धनगढीः कैलालीमा ५० हजारको संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदैछ। १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यतालिका छ। सुदूरपश्चिममा कैलालीसहित नौवटै जिल्लाका करिब दुई लाख दुई हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ। हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने छ। कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइने छ। स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूको समन्वयमा खोप अभियान चलाउने भएको छ।
खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए। ‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा ह्युमन पिपिलोमा भाइरस विरुद्धको खोप अभियान चलाउने भएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’, उनले भने, ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनुपरेको हो। पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो।’
विद्यालयमै पुगेर खोप लगाइने
खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर सिकोलिन नामक भ्याक्सिन लगाइनेछ। भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए। उनले पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने बताए।
१५ वर्षअघि नै खोप लगाए पाठेघरको क्यान्सर हुँदैन
महिलामा स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको तथ्यांक छ। क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्युु हुने गरेको सरकारी तथ्याङ्क छ। पाठेघरको मुखको क्यान्सर नहोस् भन्नका लागि खोप १५ वर्ष अगाडि नै खोप लगाउनु सबैभन्दा सुरक्षित मानिन्छ।
भविष्यमा पाठेघरको मुखको क्यान्सर नहोस् भनेर सरकारले खोप अभियान चलाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए। जिल्लाका १३ वटै स्थानीय तहका ७५५ विद्यालयमै खोप केन्द्र राखेर क्यान्सर विरुद्धको खोप लगाइनेछ। विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई स्वास्थ्य संस्थामा खोप लगाइनेछ। पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न खोपको एक मात्रा मात्रै लगाउनुपर्छ।
प्रतिक्रिया दनुहोस्