कैलाली : आज माघ १ अर्थात् माघे संक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
सेल रोटी लगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।
माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।
माघे संक्रान्तिको अवसरमा कैलालीको गोदावरी धाममा बाह्र राशि मकर मेलाको आयोजना गरिएको छ । गोदावरी धाम विकास समितिले मकर मेलाको आयोजना गरेको हो । १२ दिन सम्म लाग्ने मकर मेलाको सोमबार उद्घाटन गरिएको थियो । मकर मेलाको अवसरमा बिहानै देखि गोदावरीमा स्नान गर्नेहरूको भिड लागेको छ । मकर मेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ । नगरप्रमुख वीरेन्द्र भट्टले मेलामा सहभागी जान आउन सहजताका लागि अत्तरिया, मालाखेती, स्याउले र गेटाबाट ५ वटा बसको व्यवस्था गरिएको बताए ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला लाग्ने गरेको छ । २०७२ सालमा गोदावरीमा माघीको दिनदेखि एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो ।
थारु समुदायमा माघीको रौनक
यस्तै थारु समुदायमा माघीको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।
प्रतिक्रिया दनुहोस्