कैलाली :कैलालीको गोदावरी धाममा बाह्र राशि मकर मेला पुस २९ गतेदेखि सुरु हुने भएको छ। गोदावरी धाम विकास समितिले मेलाको तयारी पूरा भएको जनाएको छ। मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, पुराण पाठ, ग्रह पूजा, भजनकिर्तन, र प्रवचन जस्ता धार्मिक क्रियाकलाप हुनेछन्।
गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालको महाकुम्भ मेलापछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना हुँदै आएको बताए। उनले यस मेलालाई “लघु कुम्भ” का रूपमा व्याख्या गर्दै, कुम्भ मेला एक महिनाभन्दा बढी समयको हुने भए पनि यो मेला बाह्र दिनसम्म सीमित रहने जानकारी गराए।
मेलाको समुद्घाटन पुस २९ गते सोमबार दिउँसो १ बजे प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको छ।
महाकुम्भको तयारीसँग मेलाको जोड
२०८४ सालमा आयोजना हुने महाकुम्भ मेलाको प्रारम्भिक तयारी यसै वर्षबाट सुरु गरिएको छ। प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताका रूपमा लिँदै उनीहरूको सङ्कल्पबाट महाकुम्भ आयोजना गर्न लागिएको जोशीले जानकारी दिए
निःशुल्क बस सेवा
मेलाका अवसरमा गोदावरी नगरपालिकाले माघ १ गते पाँचवटा निःशुल्क बस सेवा उपलब्ध गराउनेछ। बसहरू गोदावरीको गेटा, मालाखेती, स्याउले र अत्तरियाबाट सञ्चालन हुनेछन्। नगरप्रमुख वीरेन्द्र भट्टले मेलाको लागि स्नान कुण्ड, बाटो निर्माण, एम्बुलेन्स सेवा, र स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताए।
मेला माघ १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दनुहोस्