बैतडी : बैतडीका ६ वटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको छ । शुक्रबार जिल्लाको दशरथचन्द नगरपालिकाले ६ वटा विद्यालयलाई उक्त सामान वितरण गरेको हो ।
विद्यालय डिजिटाइजेसन कार्यक्रम अन्तर्गत पालिकामा रहेका ६ वटा विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । प्रदेश सरकारको सहयोगमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने रणनीति अनुसार ल्यापटप वितरण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
उनका अनुसार नगरपालिकाले विद्यार्थी संख्या बढी भएका पालिकाभित्रका ६ ओटा विद्यालयहरुलाई प्रति विद्यालय पाँचओटाका दरले ल्यापटप र ४ ओटा विद्यालयमा ३/३ तथा दुईओटा विद्यालयमा २/२ का दरले प्रोजेक्टर वितरण गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाले निङ्गलाशैनी मावि, विरेन्द्र मावि, मणिलेक मावि, कुलौन मावि, जोशीबुंगा मावि र केदार मावि लाई नगरपालिकाले ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । माध्यमिक तहका बाँकी विद्यालयहरुमा पनि यसै बर्ष ल्यापटप र प्रोजेक्टर वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्