काठमाडौँ : माधवकुमारले देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए । उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए ।उनले उदयपुर र डडेल्धुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे ।अध्यक्ष नेपालले आफ्नो जिल्लामा पनि आफूले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए । विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्