अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा गणित शिक्षकहरुका लागि ३ दिने तालिम सञ्चालन भएको छ । नगरपालिकासँगको सहकार्यमा रोटरी क्लबले तालिमको आयोजना गरेको हो ।
तालिमलाई बुढानिलकण्ठ स्कुल काठमाण्डौमा अध्ययनरत केही विद्यार्थीहरुले सञ्चालन गरेको साम्य परियोजनाले पनि सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा आधारभुत तह (१–३) सम्म गणित पढाउने शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष डा. सुशिल कुमार भण्डारीले जानकारी दिए ।
उनले गणित विषयलाई सबैभन्दा गाह्रो विषयका रुपमा लिने गरिएकाले विद्यार्थीहरुलाई कसरी सहज रुपमा गणित सिकाउन सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । ‘हामी सबैले गणितलाई सबैभन्दा गाह्रो विषयका रुपमा लिने गरेका छौ, त्यसैले धेरै जसो बालबालिकाहरु गणित विषयमा कमजोर पनि हुन्छन’ उनले भने ‘यो तालिमले गणितलाई कसरी सहज रुपमा सिकाउन सकिन्छ भन्ने विषयमा एकदमै सजिला तरिकाहरुका बारेमा जानकारी दिने छ ।’
उनले तालिमको समापन पश्चात तालिममा सहभागि विद्यालयहरुलाई गणित सिकाउन सहज पु-याउने सामग्रीहरु पनि प्रदान गरिने बताए । उनका अनुसार कार्यक्रममा सहभागि २४ विद्यालयका शिक्षकहरुलाई प्रतिविद्यालय २० हजारका बराबरका सामग्रीहरु प्रदान गरिनेछ ।
यसैबिच कार्यक्रममा बोल्दै मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले सरकारी स्कुलमा पठाउने शिक्षक सबैभन्दा अब्बल दर्जाको भएपनि नतिजामा भने सोच्नुपर्ने बेला आएको बताए । उनले शिक्षाको गुणस्तरमा कमी आउनुको कारण राज्यले आवश्यक संसाधनको पु-याउन नसक्दा होकी भन्ने विषयमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
‘सरकारी विद्यालयमा पढाउने शिक्षक अब्बल दर्जाको शिक्षक हो, अरु विषयमा कुरा उठेपनि लोक सेवा तथा शिक्षक सेवामा कुरा उठेको छैन । त्यो लेवल पार गरेर विद्यालयमा जाने शिक्षक अब्बल दर्जाको हो’ उनले भने ‘तर दुर्भाग्य नतिजा हेर्दा सोच्नुपर्ने बेला आएको छ । यो हुनुका लागि कतै राज्यले सबै कुरा पुगाएन की भन्ने हाम्रो सोच छ ।’ उनले पछिल्लो समयमा विद्यार्थी र पुराना शिक्षकहरुको सोचाईमा धेरै फरक रहेकाले पनि नतिजामा असर परेको बताए ।
‘विद्यार्थीहरुको सोचमा पुग्नका लागि त्यो स्टेप लिन केही साधन स्रोत कम भएको हो की भन्ने बुझ्नका लागि तालिम प्रभावकारी बन्नेछ’ उनले भने । तालिममा सिकेको सिपलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे । उनले तालिमा सिकेको सिपलाई व्यवहारमा उतार्न आवश्यक पर्ने सामग्रीहरुका लागि रोटरीले पहल गर्ने समेत बताए ।
तालिमलाई बुढानिलकण्ठ स्कुल काठमाण्डौमा अध्ययनरत केही विद्यार्थीहरुले सञ्चालन गरेको साम्य परियोजनाले पनि सहयोग गरेको छ । परियोजनामा आवद्ध केही विद्यार्थीहरुले तालिममा सहजिकरण गर्ने मात्रै नभई विद्यालयमा गएर विद्यार्थीहरुसँग छलफल गर्ने कार्य समेत गरिरहेका रोटरी क्लबका पुर्व अध्यक्ष महेश बिष्टले जानकारी दिए ।
परियोजनाकी टिम लिडर आर्यका बिष्टले बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले मिलेर यो परियोजना बनाएको बताईन । उनले परियोजनाले शिक्षामा समानता भन्ने विषयलाई आत्मसाथ गर्ने गरेको पनि बताईन ।
‘बुढानिलकण्ठ स्कुलमा कक्षा ११ मा पढ्ने केही विद्यार्थीहरुले मिलेर यो परियोजना बनाएका हौ, यो परियोजनाले विद्यार्थीहरुमा समानता भन्ने विषयमा काम गर्ने गरेको छ’ उनले भनिन् ‘सबै विद्यार्थीहरुले शिक्षामा समान वातावरण पाओस भन्ने मुख्य उद्देश्यले शिक्षामा समानता भन्ने नाराका साथ साम्य परियोजना सञ्चालन गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्