अत्तरिया :नेकपा एमाले गोदावरी नगर कमिटीका सदस्य तथा संगठित ४६ जना सदस्यले राजीनामा दिएपछि किर्ते हस्ताक्षरको विवाद चर्किएको छ । नगर कमिटी सदस्य कल्पना कुमारी विक, पूर्व नगर कमिटी सचिवालय सदस्य रूपलाल विक (रुपेश) सहित ४६ जना संगठित सदस्यले राजीनामा दिएपछि किर्ते हस्ताक्षरको विवाद उत्कर्षमा पुगेको हो ।
पुस ११ गते एमालेमा अपमानित भएको, पूर्व माओवादी भनेर अपहेलित गरेको भन्दै ४६ जनाले राजीनामा दिएका थिए । एमाले गोदावरी नगर कमिटी अध्यक्षलाई बुझाइएको उक्त राजीनामा पत्र पुस २२ गते सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । पुस २३ गते राजीनामा दिएकामध्ये २८ जनाको नाम र २६ जनाको हस्ताक्षर रहेको विज्ञप्ति एमाले गोदावरीका नेताहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै समाचार झुटो भएको बताएका थिए ।
सेतु दमाई, इश्वरा कोली, कमला कामी लगायतको हस्ताक्षर रहेको विज्ञप्तिमा किर्ते दस्तखत गरी झुटो, कपोकल्पित समाचार सम्प्रेषण गर्न लगाउने रूपलाल बिकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । विज्ञप्तिमा विभिन्न अनलाइन खबरमा ४६ जनाले नेकपा एमाले परित्याग भन्ने समाचार सम्प्रेषण भएको देख्दा आश्चर्यमा परेको उल्लेख छ ।
४६ जनाले राजीनामा दिएको पत्र किर्ते भनेर २८ जनाको नाम लेखिएको विज्ञप्ति सार्वजनिक भए पनि उक्त विज्ञप्तिमा भएका हस्ताक्षर पनि किर्ते भएको आरोप लागेको छ । राजीनामा दिएका पूर्व नगर कमिटी सचिवालय सदस्य रूपलाल विकले २–३ जनालाई प्रलोभनमा पारेर हस्ताक्षर गराएर बोल्न लगाए पनि अन्यको किर्ते हस्ताक्षर गरिएको बताए ।
उनले राजीनामा दिने ४६ जना नै आफू सँगै रहेको बताउँदै २८ जनाको नाममा निकालिएको विज्ञप्ति झुटो भएको बताए । उनले राजीनामा दिएका केही व्यक्ति अहिले भारतमा भए पनि ती व्यक्ती पुस ११ गते राजीनामा पत्रमा हस्ताक्षर गरेपछि मात्रै भारत गएको बताए । अहिले जारी गरिएको विज्ञप्तिमा भारतमा रहेका ५ जनाको किर्ते हस्ताक्षर गरिएको उनले बताए ।
राजीनामा दिएपछि अहिले धम्क्याउने काम भइरहेको बताउँदै उनले नगर सचिव विक्रम विष्टले आफूलाई अपमानजनक शब्द प्रयोग गरेर बोलेको अडियो रेकर्ड नै रहेको बताए ।
४६ जनाले राजीनामा दिएको तरगंका बिच मंगलबार एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पनि राजीनामा दिएको खबर फैलिएपछि उनको सचिवालयले नै यसको खण्डन गर्नुपरेको थियो । देश भरी हलचल मच्चाएको ४६ जनाको राजीनामा प्रकरणका बारेमा एमाले गोदावरी नगर कमिटीले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
एमाले नगर कमिटी अध्यक्ष सन्तोष सिंहले ४६ जनाले राजीनामा दिएको पत्र नगर कमिटीमा आए पनि त्यसमा भएका हस्ताक्षर किर्ते भेटिएको बताए ।
‘नगर कमिटी सदस्य कल्पना बिक र उनका श्रीमान् पूर्व नगर कमिटी सचिवालय सदस्य रूपलाल विक (रुपेश) ले कपोकल्पित ढङ्गले कसैसँग सरसल्लाह नै नगरी किर्ते हस्ताक्षर गरेको पत्र नगरमा दिनुभएको थियो’ उनले भने ‘हामीले भूगोलमा के छ भनेर बुझ्दा खेरी वहाहरुले हाम्रो मन्जुरी छैन । हामी एमालेमै छौ भनेर २८ जनाले लिखित हस्ताक्षर सहित हामीलाई दिनु भएको छ । बाँकी रहेका कोही भारत, कोही पहाडमा छन् ।’
उनले २ जनाको मात्रै राजीनामा भएको बताउँदै यस विषयमा छिटै नगर कमिटीको बैठक बसेर निर्णय लिने बताए ।
प्रतिक्रिया दिनुहोस्