टीकापुर : पथरैया र काँडा नदीको दोभानमा झोलुङ्गे पुल माग गरेको बर्सौं बित्दा पनि पुल बन्न सकेको छैन । पथरैया नदीको पूर्वपट्टि टीकापुर नगरपालिका–७, ढुङ्गानाटोल पर्छ भने पथरैयाको पश्चिमपट्टि भजनी नगरपालिका–३, कुसुमघाट र पथरैया काँडाको दोभान उत्तरतिर भजनी नगरपालिका–८ को काँडाढीक गाउँ पर्छ ।
टीकापुर नगरपालिका–७, ढुङ्गानाटोलमा पहिलो खम्बा, भजनी नगरपालिका–८, काँडाढीकमा बिचको खम्बा र भजनी–३, कुसुमघाटमा अर्को खम्बा गाडेर पुल बनाउन सके दुई वटा नगरपालिकाका तीन वटा वडा जोडिने र पथरैया, काँडा नदी एकै पटक तर्न सकिने छ ।
पुल बनेमा भजनी नगरपालिका–३, दैलेखीटोल, बर्दवाफाँटा, कुसुमघाट, कन्हैयापुर, जवलपुर, भजनी–५ का कौवाखेरा गाउँका मानिसलाई सोझै टीकापुर नगरपालिका–७ मा पहुँच हुने छ भने टीकापुर–७ का मानिसलाई भजनी–३ मा खेती गर्न र उक्त वडा हुँदै मोहना नदी (मरियाघाट) बाट भारत आवतजावत सहज हुने छ ।
यस्तै यहाँ पुल बनेमा विद्यार्थीका लागि सहज हुने विद्यार्थी मुकेशप्रसाद भण्डारी बताउनुहुन्छ । नदीपारी रहेको जग्गामा या त पौडी खेलेर जानुपर्ने या त तीन किलोमिटर उत्तरको हुलाकी राजमार्गको पुल तरेर पैदल हिड्दा डेढ घण्टा लाग्ने गरेको स्थानीय नरेन्द्र रेग्मी बताउनुहुन्छ । मोहना, काँडा र पथरैयाको त्रिवेणी डल्फिनको विचरण क्षेत्र, बच्चा हुर्काउने स्थान भएकाले यहाँ बन्ने झोलुङ्गे पुल पर्यटकीय हिसाबले पनि महìवपूर्ण हुने डल्फिन संरक्षण केन्द्रका सचिव भोजराज ढुङ्गानाको भनाइ छ ।
दुई पालिका जोड्ने पुल भएकाले सुदूरपश्चिम प्रदेश सरकारले बनाउँला भन्ने आशा भए पनि बजेट नआएको टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुहुन्छ । स्थानीय पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख इन्जिनियर टङ्कप्रसाद खनाल पुलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई सस्पेन्सन ब्रिज डिभिजनमा पठाइएको र अर्थ मन्त्रालयबाट बहुवर्षे योजनामा समावेश गरेपछि ठेक्का दिइने बताउनुहुन्छ । यसअघि ८५ लाख रुपियाँ बजेट विनियोजन भए पनि लागत चार करोड रुपियाँभन्दा बढी लाग्ने भएकाले काम हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्