काठमाडौँ : प्यालेस्टिनी समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौता भएको खण्डमा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गरेको छ । बीबीसीका अनुसार हमासका वरिष्ठ अधिकारीले उपलब्ध गराएको सूचीमा ३४ जना बन्धकहरूको नाम छ । तर उनीहरूमध्ये कति जना जीवित छन् भन्ने स्पष्ट भइसकेको छैन ।
सूचीमा १० बृद्धा, ११ जना ५० देखि ८५ वर्षका पुरूष बन्धक र बालबालिका छन् । यसअघि हमासले ती बालबालिका इजरायली हवाई आक्रमणमा मारिएको जनाएको थियो । हमासले बिरामी भएको बताउने धेरै बन्धकहरू पनि सूचीमा समावेश भएका बीबीसीले जनाएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले भने हमासले इजरायललाई बन्धकहरूको सूची उपलब्ध गराएको समाचार भने अस्वीकार गरेको छ । ‘मिडियामा प्रकाशित अपहरणकर्ताको सूची हमासले इजरायललाई पठाएको थिएन । त्यो मध्यस्थकर्तालाई सन् २०२४ जुलाईमा इजरायलले पठाइएको थियो,’ इजरायली प्रधानमन्त्री कार्यालयले भनेको
पछिल्लो समय हमास र इजरायल युद्धविराम वार्तामा छन् । बन्धकहरूको नाम रिहा गर्ने हमासको निर्णयलाई इजरायली सरकारमाथि सार्वजनिक दबाब बढाउने प्रयासका रूपमा हेरिएको छ ।
दुई पक्षबीच कतारको दोहामा गत शुक्रबार पुन: सुरू युद्धविराम वार्तामा भने अहिलेसम्म खासै प्रगति भएको देखिँदैन । हमासका एक अधिकारीले इजरायली बन्धकहरूलाई फिर्ता गर्ने कुनै पनि सम्झौता इजरायलले गाजाबाट फिर्ता हुने सम्झौता र स्थायी युद्धविराम वा युद्धको अन्त्यमा भर पर्ने बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
‘यद्यपि, अहिलेसम्म युद्धविराम र बन्धकहरूको रिहाईका विषयमा सहमति जुटिसकेको छैन र कुनै कदम अगाडि बढेको छैन,’ ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन् ।
पछिल्लो समय इजरायलले गाजा क्षेत्रमा आक्रमण तीव्र पारेसँगै युद्धविराम सम्झौता हुनेमा थप आशंका बढेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गरेको हवाई आक्रमणमा तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको जनाएको थियो ।
प्यालेस्टिनी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो । उक्त आक्रमणमा करिब १२ सय जनाको ज्यान गएको थियो । त्यसका साथै, हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
इजरायलले हमासलाई ध्वस्त नपारेसम्म दक्षिणी इजरायलस्थित आफ्ना नागरिक सुरक्षित नहुने बताउँदै आएको छ । जसका कारण इजरायलले सुरू गरेको सैन्य अभियानमा शनिबारसम्म गाजामा कम्तिमा ४५ हजार ८ सय ५ जनको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्