कपिलवस्तु : तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो ।
कपिलवस्तु र शिवराज नगरपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले पुस २१ गते पुस २९ गतेसम्म र मायादेवी गाउँपालिकाले पुस २१ देखि माघ ८ गतेसम्म बिदा दिएको छ । त्यस्तै बुद्धभूमि नगरपालिकाले पुस २१ देखि माघ ११ गतेसम्म तथा यशोधरा गाउँपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएको छ ।
हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । ५/६ दिनदेखि घाम नलागेर कठ्यांग्रिने चिसो बढेपछि विद्यालय बन्द गरिएको हो । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुल गर्न समस्या पर्ने र बालबालिकालाई विद्यालय आउन जान असहज हुने भएकाले बिदा दिइएको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि पराजुलीले बताए ।
तराईमा बाक्लो हुस्सुका कारण विद्यालयका सवारी साधन चलाउनसमेत समस्या भएकाले जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजारमा खासै चहलपहल छैन । सर्वसाधारण चोकचोकमा आगो तापेर बसिरहेका छन् । मानिस घरैभित्रै खुम्चिएर बसेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन्
जिल्लामा आइतबार न्यूनतम ११ डिग्री सेल्सियस र अधिकतम १४ डिग्री सेल्सियस तापक्रम मापन भएको रामनगरस्थित जल तथा मौसम विभाग इकाइले जनाएको छ । अधिकतम तापक्रम कम हुँदा चिसो अत्यधिक बढेको मौसमविद्हरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्