धनगढी । धनगढीमा बहुप्रतिक्षित आधुनिक पार्क निर्माणको काम सुरु भएको छ । दशरथ भीम उद्यानलाई आधुनिक पार्कका रुपमा विकासको पहिलो चरणको काम सुरु भएको हो ।
धनगढी उपमहानगरपालिका १ मा निर्माण सुरु भएको उक्त पार्कको लागत ३५ करोड भन्दा बढी अनुमान गरिएको छ ।
पार्कको डिपिआर तयार गरेर विभिन्न दातृ निकायहरुसँग पार्क निर्माणको प्रस्ताव पेस गरे अनुसार सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई र धनगढी उपमहानगरपालिकाद्वारा पहिलो चरणको काम अघि बढाइएको इन्जिनियर दिजराज भट्टले बताएका छन् ।
भट्टका अनुसार पार्क निर्माणको पहिलो चरणमा पार्कको ब्लक १ देखि ब्लक ७ सम्मको भौतिक संरचना निर्माणको लागि ६ करोड ४६ लाख ८८ हजार ६ सय १२ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरिएको छ । ३५ करोडाको कुल लागत अनुमान गरिएको उक्त पार्कको केही काम सहरी विकासले गर्नेछ भने केही काम धनगढी उपमहानगरपालिकाले गर्ने भट्टले बताएका छन् ।
हाल पार्कलाई ४ भागमा विभाजन गरेर निर्माण कार्य सुरु गरिएको भट्टले बताएका छन् । जसअन्तर्गत बालबालिका, वृद्ध, वयस्क र व्यापारिक क्षेक विभाजन गरिएको भट्टले बताए । उक्त पार्कको बाहिरी क्षेत्रलाई पनि व्यवस्थापन गरी रात्रिकालीन बजार सञ्चालन गर्ने उपमहानगरपालिकाले तयारी गरेको भट्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्