धनगढी : कैलालीको चुरे गाउँपालिका–१ओजेनामा रहेको केदारेश्वर आधारभूत विद्यालय भवनको अवस्था अत्यन्तै जीर्ण छ। छानोमा प्वाल परेको छ, भित्ताहरू चर्किएका छन्, र कक्षाकोठाबाटै आकाश देखिन्छ। वर्षायाममा कोठाभित्र पानी चुहिने समस्याले विद्यार्थीहरू असुरक्षित वातावरणमा पढ्न बाध्य भएका छन्।
भूकम्प र वर्षातको समयमा भवन भत्किने डर रहेको प्रधानाध्यापक पदम साउदले बताए। “कतिखेर के हुने हो भन्ने चिन्ताले हामीलाई पिरोलिरहेको छ। तर विकल्प नहुँदा त्यही भवनमा पढाउन बाध्य छौं,।” उनले भने।
शिक्षक धिराज साउदले भने,“भवन भत्किएला कि भन्ने डरले पढाउन समेत गाह्रो भएको छ। पठाइरहेका बेला समेत शिक्षक र विद्यार्थीको ध्यान भत्किन्छ कि भन्ने तिरै हुन्छ । डरै डरमा पढ्नु र पढाउनु परेको छ।”
सेती परियोजनाअन्तर्गत २०४८ सालमा बनेको यो विद्यालय भवन अहिले जीर्ण छ। कक्षा–८ सम्म पठनपाठन हुने विद्यालयमा १७८ जना विद्यार्थी अध्ययनरत छन्। केही समयअघि प्रदेश सरकारको ३८ लाख सहयोगमा चारकोठे नयाँ भवन गरेको भए पनि कोठा अभावकै कारण पुरानै जीर्ण भवनमा पठनपाठन भइरहेको छ।
विद्यालयको आयस्रोत केही नभएको कारण चन्दा सङ्कलनबाट चलिरहेको छ । विद्यालयमा निजी स्रोतका दुई, संघीय अनुदानका एक, राहतमा एक, सरकारी दरबन्दीका दुई, बालविकासका एक, र पालिकाद्वारा नियुक्त दुईजना गरी नौ शिक्षक कार्यरत छन्।
केही दिनअघि विद्यालय पुगेका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले अर्को वर्ष नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि समस्या तत्काल समाधान हुने देखिँएको छैन । विद्यार्थी, शिक्षक, र अभिभावकहरूले जोखिमयुक्त भवनमा पढ्नुपर्ने बाध्यता अन्त्य गर्न चाँडो कदम चाल्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्