धनगढी : धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् । बाढीले बालुवा पटान गरेको खेतमा उनीहरुले व्यावसायिक बदाम गर्न थालेका छन् ।
कैलालीको दक्षिणी क्षेत्रमा डुबान समस्याका कारण धान उब्जनीयोग्य कतिपय जमिन बिग्रिएको छ । त्यस्तो खेतमा बदाम खेती भइरहेको छ । त्यसले धेरथोर आम्दानी पनि भइरहेको किसानले जनाएका छन् ।
“यसवर्ष तीन क्विन्टल बदाम फलाएको थिएँ”, कैलारी गाउँपालिका–३ मोहनपुरका दिनेश चौधरीले भने, “प्रति केजी काँचो १६० र भुटेको प्रतिकेजी दुई सयमा बिक्री गरिरहेको छु ।”
उनले मान्छेहरु घरमै आएर बदाम खरिद गरेको बताए । जिल्लाको दक्षिणी क्षेत्रमा मोहना नदीले धेरैजसो खेतलाई बगरमा परिणत गरि दिएको छ । बालुवै बालुवा भएको त्यस्ता जमिनमा धान उब्जनी हुँदैन । तर बदाम भने राम्रै फल्ने गरेको किसान बताउँछन् ।
थोरै जग्गा जमिन रहेका कतिपय परिवारको गुजाराको माध्यम नै बदाम खेती बनेको छ । भएको जग्गा बालुवा बगर बनेपछि उनीहरु बदाम खेती गरेर गुजारा चलाउने गरेको जनाइएको छ । कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख मैँया चौधरीले बदाम खेती प्रवर्द्धनतर्फ गाउँपालिकाले हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरे पनि किसानले यो खेती गरिरहेको बताए ।
किसानले सखरखण्ड खेती पनि गर्न थालेका छन् । मोहनपुरलगायतको गाउँमा अहिले सखरखण्ड खन्ने चटारो चलेको छ । माघी पर्व नजिकिएपछि सखरखण्डको माग भइरहेको किसानले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्