सरकारले भुक्तानी दिन नसक्दा ठेक्का सम्झौता गरेको आयोजना अलपत्र

टीकापुर : ठेक्का सम्झौता गरेर आयोजना अलपत्र पारेका थुप्रै समाचार हामी सुन्छौं, पढ्छौं । अझ कतिपय आयोजनाको समयावधि सकिँदासमेत सुरुवात नै नभएका उदाहरण बग्रेल्ती भेटिन्छन् । तर, निर्माण कम्पनीले समयमै काम सुरु गरेर समयावधिभन्दा अगावै सम्पन्न हुने गरी गरेको कामको रकम सरकारले भुक्तानी दिन नसक्दा कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सनकट्टी पुल निर्माणको काममा अवरोध पुगेको छ । 


लुम्बिनी प्रदेशको बर्दिया गेरुवा गाउँपालिका र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुर जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा बनिरहेको पुलको रकम सरकारले भुक्तानी दिन नसक्दा निर्माण कार्यमै अवरोध पुग्ने अवस्था आएको हो । 

Seti Hospital

पुलहरू निर्माणमा ख्याति कमाएको रसुवा कन्सट्रक्सन प्रालि, काठमाडौंंले १ अर्ब १८ करोड रूपैयाँको लागतमा निर्माण सुरु गरेको उक्त पुलको रकम सरकारले भुक्तानी गर्न नसकेपछि निर्माणमै बाधा पुग्ने देखिएको हो । २०७९ पुस १७ गते ठेक्का सम्झौता गरी २०८१ वैशाख २ गतेबाट निर्माण थालेको कम्पनीलाई ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य दिइएकोमा निर्माण कम्पनीले एक वर्ष नपुग्दै २६ प्रतिशत बढी काम सम्पन्न गरिसकेको छ ।


पुल सेक्टर कार्यालय नेपालगञ्जका इञ्जिनियर रामकिसन थारूका अनुसार कम्पनीले निर्माण सुरु गरेको छोटो अवधिमा २६ प्रतिशत बढी भौतिक प्रगति गरेको हो । ‘७ सय ५० मिटर लम्बाइ रहेको पुलमा १४ वटा पिलर फाउण्डेसन, साढे ७ मिटर चौडाइ र दुवैतर्फ यात्रुका लागि फूटपाथ रहने गरी डिजाइन भएको छ’, इञ्जिनियर थारूले भने, ‘२०८१ वैशाखमा निर्माण गरेको कम्पनीले कर्णाली नदी डाइभर्सन गरेर ७ वटा पिलर निर्माण सकेको छ भने पिलर क्याप सक्ने चरणमा छ, यही रफ्तारमा काम हुने हो भने असारसम्म ७० प्रतिशत काम निर्माण कम्पनीले सक्ने देखिन्छ ।’

इञ्जिनियर थारूका अनुसार निर्माण कम्पनीलाई गत आर्थिक वर्षकै ६ करोड २२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ भने यो आर्थिक वर्षमा गरेको कामको ६ करोड बढी भुक्तानी दिन बाँकी छ । ‘बाँकी रहेका ७ पिलर बनाउन, स्ल्याव ढलान गर्ने काम तत्काल सुरु गर्न निर्माण कम्पनी तयार छ’, इञ्जिनियर थारूले भने, ‘तर हामीले भुक्तानी दिन सकिरहेका छैनौं, मन्त्रालयमा पहल भइरहेको छ, भुक्तानी समयमा हुने हो भने दुई वर्षमै पुल सम्पन्न हुने देखिन्छ । कम्पनीलाई कामका लागि दबाव दिने अवस्था छैन ।’ 

निर्माण कम्पनी रसुवा कन्सट्रक्सनका साइट इञ्चार्ज कृष्ण ढुंगेलले पटक–पटक ताकेता गर्दा समेत सरकारले १३ करोड बढी रकम भुक्तानी दिन नसकेपछि काम रोक्नुपर्ने अवस्था आएको बताए । ‘दैनिक ज्यालादारी मजदुरहरूलाई भुक्तानी दिनुपर्छ, गाडीहरूको डिजेल, मर्मत खर्च हेर्नुपर्छ, दुई चार करोड ढिलो चाँडो हुँदा समस्या नभए पनि १३ करोड बढी रकम रोकिँदा काम रोक्नुको विकल्प निर्माण कम्पनीसँग छैन’, उनले भने । 

निर्धारित समय अगावै पुल निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने कम्पनीको रकम भुक्तानीका लागि साइट इञ्चार्ज ढुंगेल मन्त्रालय, विभाग धाइरहेका छन् । ‘माननीय, मन्त्रीदेखि विभाग र मन्त्रालयसम्म हामीले भुक्तानीका लागि आग्रह गरिरहेका छौं’, इञ्चार्ज ढुंगेलले भने, ‘यही अवस्था आए पुल निर्माणका काम अगाडि बढाउने अवस्था छैन, यसबाट यहाँका जनतामा समेत असर पर्न जान्छ ।’

ढुंगेलले सरकारले तत्काल रकम भुक्तानी गरेर बजेट सुनिश्चित गरे एक वर्षभित्रै कैलालीबाट बर्दिया जोड्ने पुल निर्माण सम्पन्न गर्न कम्पनी सक्षम रहेको बताए । कैलालीको पूर्वी क्षेत्र टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जान सनकट्टी घाटमा पुल नहुँदा स्थानीयले जोखिमपूर्ण डुंगामा वारपार गर्ने गरेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेका कारणसमेत पुल निर्माणको काम ढिलो गरी सुरु गर्नु परेको थियो । बर्दियाको पश्चिमी क्षेत्रका लागि मुख्य बजारका रूपमा रहेको टीकापुर क्षेत्रमा दैनिक आउजाउ गर्न, व्यापार व्यवसाय गर्न र चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुलको विकल्पका रूपमा सनक्टटिमा निर्माण हुने पुललाई लिइएको छ । 

पुल निर्माणपछि टीकापुरको व्यावसायिक गतिविधि बढ्ने टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेशकुमार खत्री बताउँछन् । टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला महोत्सवमा वर्षौंदेखि सनकट्टीमा पुल निर्माण हुनुपर्ने माग गर्दै आएको बताउँदै पूर्व अध्यक्ष खत्रीले भने, ‘व्यावसायिक रूपमा विकास हुँदै गएको टीकापुरसँगको आर्थिक गतिविधि र लुम्बिनी प्रदेशका बासिन्दालाई सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने यो पुलले यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

सनकट्टीमा पक्की पुल नहुँदा दैनिक दुई हजार बढी मानिस जोखिमपूर्ण डुंगाको सहायताले आवतजावत गर्ने गरेका छन् । वर्षायाममा डुंगा समेत नचल्दा स्थानीय सत्तीस्थित पुलको लामोबाटो भएर आउजाउ गर्ने गर्छन् । दश वर्ष पहिले सनकट्टीमा डुंगा दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । टीकापुरका कतिपय मानिसका खेतबारी बर्दियामा छन् । कतिपय व्यापारी टीकापुरबाट बर्दिया र बर्दियाबाट टीकापुरसम्म व्यवसाय गर्दै आइरहेका छन् ।

स्थानीयका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहजता हुनेछ । जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ । पूर्वतिर गेरुवा नदी, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ९बफर जोन० र पश्चिममा कर्णाली नदीका कारण गेरुवा गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् । 

यो पुल निर्माण भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्धारका रूपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुरलाई जोड्ने सत्ती घाटमा पुल बनेको थियो । सत्ती घाटमा बनेको पुलसमेत निर्माण कम्पनीले नै निर्धारित समय भन्दा १० महिना अगावै सम्पन्न गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार