गाउँमा पुग्यो विकास, युवा पसे मुग्लान

वीरेन्द्रनगर :  मुगुको खत्याड–३ माथिखर्ककी ७० वर्षीया पञ्चा टमट्टा बिरामी परिन्। बुधबार दमले निकै च्यापेपछि माझीचौरस्थित स्वास्थ्य संस्था लैजानुपर्ने भयो। तर, त्यहाँसम्म लैजान गाउँमा कोही पनि पुरुष भएनन्। गाउँका महिलाहरूले बाँसको स्ट्रेचर बनाए।

चार जनाले काँधमा बोकेर एक घण्टाको बाटो पार गर्दै माझीचौर पुर्‍याए। माझीगाउँ मात्र होइन, जिल्लाका अधिकांश गाउँ पुरुषविहीन छन्। गाउँमा कोही बिरामी परे, कसैको मृत्यु भए वा कुनै अप्ठ्यारो अवस्था आइपरे उद्धार गर्ने कोही पनि पुरुष छैनन्। युवा जति सबै मुग्लान पसेपछि गाउँ रित्ता छन्, सुनसान बनेका छन्। 

Seti Hospital

गाउँमै गरिखाने अवस्था नभएपछि पुरुषहरू मुग्लान पसेका हुन्। अन्नबाली भियाउँदै चाडपर्व सकेपछि युवाहरूले गाउँ छोड छन्।  मुगुको खत्याड गाउँपालिका–३ का अध्यक्ष रत्नु बानियाँ भन्छन्, ‘आजभोलि गाउँहरू पुरुषविहीन छन्। कोही मर्दा–पर्दा र बिरामी हुँदा महिलाहरू आफैंले काम गर्छन्। बिरामी पर्दा स्टेचर बोक्नेदेखि कसैको मृत्यु हुँदा मलामी र दासंस्कार पनि महिलाले नै गर्छन्।’

गाउँ छोड्नेको लर्को 
तिहार सकिए लगत्तै सदरमुकाम गमगढीबाट दैनिक १ सय ५० भन्दा बढी नेपालगञ्ज प्रस्थान गर्न थालेका हुन्। नेपालगञ्ज हुँदै उनीहरू भारतका विभिन्न सहर जान्छन्। छायाँनाथ रारा यातायात प्रालिका इन्चार्ज रविन मल्लले भने, ‘दसैं र तिहारपछि गाडीमा खचाखच मानिसहरू भारत जान्छन्। वैशाख–जेठपछि वर्षे बाली लगाउन त्यसैगरी खचाखच गाउँ फर्किन्छन्।’

दसैं–तिहार अघि मुगुको सदरमुकाम गमगढीबाट सुर्खेत हुँदै नेपालगन्जसम्म दैनिक २ वटा बस छुट्थे। तर, पर्याप्त यात्रु पाउन मुस्किल हुन्थ्यो। तिहार सकिनेबित्तिकै दैनिक ४/५ वटा बस छुट्ने गरेका छन्। ५ वटा बस यात्रुले भरिभराउ हुन्छन्। जिल्ला छोड्नेको संख्या विस्तारै कम हुँदै गएको छ। मल्ल भन्छन्, ‘गाउँरित्ता भएर जिल्ला छोड्नेको संख्या घट्दै गएको छ।’   

गाउँमा रोजगारी नभएको भन्दै केही युवाहरू खाडीमुलुकमा छन्। अरू युवा मजदुरीका लागी भन्दै भारतका विभिन्न स्थानमा लर्को लागेर गए। अहिले गाउँमा युवाहरू नै छैनन्। स्थानीय मुकुन्द रावल भन्छन्, ‘गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्। यो सिजनमा मजदुरीकै लागि भारतका विभिन्न स्थानमा युवा गए। छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन छन्।’

शून्य लाग्न थाले गाउँ कालीकोटको पलाँता गाउँपालिका–१ का लोगिन्द्र न्यौपानेलाई आजभोलि गाउँघर शून्य लाग्छन्। गाउँमा पहिले जस्तो चहलपहल छैन। धेरै मानिसहरू बसाइँसराइ गरी बजार पुगेका छन्। कोही कालापहाड छन्। उनी गाउँमै खुद्रा पसल गर्छन्। उनको व्यापारमा पनि ह्रास आएको छ।

छोराछोरी सहरमा पढ्न पठाउने, बुवाआमा विदेश जाने भएपछि गाउँमा पाका मात्रै बस्छन्। त्यसैकारण व्यापार व्यवसाय घटेको न्यौपाने बताउँछन्। ‘१२/१५ जनाको संयुक्त परिवारमा पनि आजभोलि एक दुई जना मात्र भेटिन्छन्,’ न्यौपानेले भने, ‘गाउँमा मानिसहरू मर्दा मलामी र जन्मिदा उत्सव मनाउने मान्छे नै पाइँदैनन्। दुःख पर्दा रुने र उत्सवमा खुसी हुने मानिसविहीन भए गाउँ।’

पलाँता गाउँपालिका–१ खाडा गाउँ आधा खाली छ। गाउँमा रहेका ३ सयभन्दा बढी घरधुरीमध्ये सय घरधुरीमा पनि मान्छे छैनन्। कोही सहरतिर बसाइँ सरेका छन् त कोही कामको खोजी गर्न कालापहाड गएका छन्। गाउँमा मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ । आकाशे पानीको भरमा खेती हुने जमीनमा पछिल्ला बर्ष खडेरीको मार छ। खडेरीले उत्पादन नहुने भएपछि मानिसहरू गाउँको खेतीभन्दा परदेशको कमाईको भरमा छन्। गाउँमा पशुपालन र कृषि कर्म पनि छैनन्।

भैंसी पालन नै हरायो 
सल्यानको बनगाड पश्चिम क्षेत्रका गाउँ बस्तीहरूमा पनि युवासँगै पुरुषको संख्या घट्न थालेको छ । गाउँ बस्तीहरू नै युवा र पुरुषविहीन हुँदै छन्। विशेषगरी रोजगारीका लागि साउदी, कतार, मलेसिया लगायतका देश अनि भारतका विभिन्न ठाउँमा रोजगारीसँगै पढाइका लागि सुर्खेत दाङ, नेपालगन्ज, काठमाडौंका सहरमा जानेको संख्या बढ्दो छ। जसका कारण गाउँमा युवा र पुरुषको संख्या घटेको हो।

जिल्लाको पश्चिम बनगाड कुपिन्डे नगरपालिकाका प्रायः युवा रोजगारीका लागि भारत जाने गर्छन्। स्वदेशमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि पुग्दो मात्रामा जमिन नभएको र जमिन भए पनि धेरैजस्तो ठाउँमा सिँचाइ सुबिधाको अभावले घरपरिवारको घरखर्च चलाउनैका लागि भारत जानुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन्।

हाल जिल्लाका पश्चिम बनगाड कुपिन्डे नगरपालिका–३ को खेदगाडा, किम्टाकुरा, खानीगाउँ मेलटाकुरालगायत प्रायः सबै गाउँ बस्तीमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै बस्ने गरेका छन्। बनगाड कुपिन्डे नगरपालिका–३ का इन्द्र पुनले भने, ‘स्थानीयस्तरमा रोजगारीका अवसरहरू नहुँदा युवाहरू सबैले गाउँ छोडे। यहाँका गाउँबस्तीमा कोही बिरामी पर्दा, केही समस्या पर्दा पनि युवा भेटिदैनन्। सरकारले स्वदेशमै रोजगारीको व्यवस्था मिलाए युवा पलायन रोक्न सकिन्थ्यो।’

हिजो गरिब निमुखा जनताको हकअधिकार सुनिश्चित गर्न भन्दै, गरिब जनताको टाउकोमा टेकेर एकापसमा लडाउने शासकहरूको जीवन र जीवन शैलीमा धेरै ठूलो परिवर्तन भयो तर परिवर्तनका लागि ज्यान आहुती दिने सर्वहारा वर्गको स्थिति झन् जटिल बन्दै गएको छ। 

यहाँका पुरुष र युवाहरू महत्वपूर्ण चार्ड पर्व र खेतीपातीको सिजनमा मात्रै गाउँ फर्किन्छन्। प्रायः जेठ–असारमा मात्रै घर फर्कने गर्छन्। अनि २/३ महिना खेती लगाइसकेपछि फेरि रोजगारीकै लागि बाहिर जाने गर्छन्। यहाँका मानिसहरू अधिकांश भारतको महाराष्ट्र नाशिक, जलगाउँ, गुजरात अहम्दावाद, सिम्ला लगायतका क्षेत्रमा रोजगारीका लागि जाने गरेका छन्। पुन भन्छन्, ‘पहिले–पहिले यहाँका किसानहरूले घरघरमा भैंसी पाल्ने गर्थे। तर, अहिले वन जंगलहरू सामुदायिक वन बनेका छ्न। भनेको बेला घाँस काट्न नपाइने हुँदा भैंसीपालन व्यवसाय पनि लोप हुने अवस्थामा छ। 

पिउने पानी नै नभएपछि गाउँ रित्ता 

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका गाउँ रित्तिने अवस्थामा छन्। पिउने पानी अभावका कारण यो गाउँबाट बसाइँसराइ बढ्दो रहेको वडा सदस्य तपेन्द्र बुढा क्षेत्री बताउँछन्। उनका अनुसार रेक्चामा पानीको मुख्य स्रोत भनेकै आकासे पानी हो। त्यसबाट कुवा र तालमा जम्मा भएको पानीले स्थानीयहरू तिर्खा मेटाउँछन्।

‘विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारमा मात्रै गाउँको सहमति अनुसार दुई चार गाग्री बढी पानी दिइन्छ। पानीकै कारण यहाँको बसाइँसराइ बढेको छ’, वडा सदस्य बुढा क्षेत्रीले भने, ‘समस्या समाधानका लागि अड्डादेखि अदालतसम्म धाइसक्यौं। समस्या उस्तै छ।’ पाँच वर्ष पहिले १ सय ८० घरधुरी भएको रेक्चामा हाल ७० घर मात्रै रहेको वडा सदस्य बुढा क्षेत्रीले बताए।

सिंगै गाउँ बसाइँ सर्‍यो
दैलेखको महावु गाउँपालिका–५ कासिकाँधको सिंगै गाउँ नै बसाइँ सरेको छ। कासिकाँध गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल शून्य प्रायः छ। बस्तीमा फाट्टफुट्ट ज्येष्ठ नागरिकहरू भेटिन्छन्। पछिल्लो समय कासिकाँधका गाउँमा सडक पुगेको छ। तर, सोही सडकमा गुडेका सवारीसाधन चढेर युवाहरू सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ। कासिकाँधका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार त्यहाँका ३८ घरमा ३ सय ६६ जनाको बसोबास थियो। हाल गाउँमा १७ घरमा १ सय २० जना मात्रै रहेको स्थानीय अगुवा धनबहादुर थापाले बताए। 

सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको उनले बताए। कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सह–लगानीमा काम गर्न तयार भए पनि निकै कम मात्र व्यावसायिक खेतीमा लागेका छन्। ‘गाउँमा सुविधा बढ्दै गएको छ तर गाउँमा मानिसहरू परदेशीतिर छन्। गाउँमा विकास पुगे पनि मानिसहरू सहर वा विदेश जाने थालेपछि गाउँ रित्ता छन्। 

गाउँमा विकास पुग्यो, युवा अडेनन् 
सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँ, फार्सेकाँडा र भक्तडीका बस्ती पछिल्लो समय पातलिँदै गएका छन्। गाउँमा सडक सञ्जाल जोडिए पनि खानेपानी अभावले गाउँलेहरू बस्ती छाडेर बसाइँ सर्न बाध्य छन्। यो वडाबाट हालसम्म करिब डेढ सय घरधुरी बसाइँ सरेर गइसकेको पूर्ववडाध्यक्ष धनबहादुर थापाले बताए। उनले भने, ‘पहिले बाक्लो गाउँ थियो, अहिले घरहरू छन् तर मान्छे छैनन्।’ बसाइँसराइले गर्दा मान्छे रित्तिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार