कैलाली। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।
कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।
उनका अनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।
मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।
मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।
घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्