धनगढी : बाजुराका स्वास्थ्यकर्मी धर्म खत्रीको शव तीन दिन बितिसक्दा पनि आफन्तले बुझेका छैनन्। मोटरसाइकल दुर्घटनामा मृत्यु भएका खत्रीको शव आफन्तले आवश्यक क्षतिपूर्ति नपाएको कारण नबुझेका हुन्।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिक ११ गते साँझ अत्तरियाबाट धनगढीतर्फ आउँदै गर्दा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाजुराको बडिमालिका नगरपालिका–७ निवासी ३० वर्षीय जनस्वास्थ्य निरीक्षक खत्रीको मृत्यु भएको थियो। दुर्घटनामा संलग्न धनगढीका पूरन शाहले चलाएको मोटरसाइकलको ठक्करका कारण खत्रीको मृत्यु भएको बताइएको छ ।
मृतकका आफन्तले पटकपटक पीडक पक्षलाई वार्तामा बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएकाले शव बुझ्न नसकेको बताएका छन्। उनीहरूले पीडक पक्षले कुनै चासो नदेखाएको र मागअनुसार क्षतिपूर्ति उपलब्ध नगराएको गुनासो गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कविन्द्र बोहराका अनुसार मुद्दा दर्ता भइसकेको छ। उनले दुवै पक्षबीच आन्तरिक छलफल चलिरहेको र त्यसकै कारण शव उठ्न नसकेको बताए।
प्रतिक्रिया दिनुहोस्