धनगढी : धनगढीमा तीन दिनसम्म भुवा पर्व मनाइने भएको छ । बाजुरेली सेवा समाज धनगढीले सोमबारदेखी तीन दिनसम्म भुवा पर्व मनाउने भएको हो ।
समाजले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा भुवा पर्व मनाइने जनाएको छ । समाजका सचिव भरत केसीले भुवा पर्वलाई उत्सवका रुपमा मनाईने बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसंगै प्रतियोगिता पनि आयोजना गरिनेछ ।
प्रतियोगितामा सुदूरपश्चिमका तराइका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताईएको छ ।
जसमा कैलालीको चौमाला, रामशिखरझाला, अत्तरिया, फुलबारी, सुर्मादेवी समाज धनगढी र बाजुरेली सेवा समाजको टिम सहभागिता हुनेछन् । प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने समेत आयोजकले जनाएको छ ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्