काठमाडौँ : चाकु माघे संक्रान्ति अर्थात् जाडोयाममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो । सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ ।
काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।
टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।
उनले भने, ‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहार लगत्तै यो दुई महिना चाकुको अत्याधिक बजारमा पठाएका छौँ । चार पुस्तासम्म पेशामा निरन्तर लागि रहेका छौँ । पेशा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौँ ।’
चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुदाँ चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए । चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ । उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताए ।
उनका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तरराष्ट्रिय जगत्मा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरूमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोहीअनुसार निर्यात गर्ने पनि गरेका छौँ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ ।’
उनले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उनले बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यति ध्यान नदिएको पनि उनको गुनासो छ । उनले आफूहरूले दिएको करबाटै हामीलाई अनुदान दिएको भए पनि सहयोग गर्न असहज मान्ने गरेको उनले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैन । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्यौँ भने दुई लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन । नेताहरूले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन ।
यसको साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्नसके व्यवसायीहरूलाई सहज हुने श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्