बाजुरा : बाजुराका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य भएका छन्। लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन्। त्यही घरमा बस्न उनीहरू बाध्य छन्। पछिल्लो भूकम्प पुष ६ गते गएको थियो।
भूकम्पले घर चर्किएर जोखिममा परेको भएपनि उनीहरूलाई अहिलेसम्म कुनै विकल्प आवासको व्यवस्था नभएपछि त्यही घरमा बस्न बाध्य भएका हुन्। पहिला गएको भूकम्पले चर्किएको घर अहिले त्यसैमा फेरि चिराकचिराप परेको छ। बाहिर चिसो भएपछि अहिले यसै चर्किएको घरमा बस्न बाध्य भएको जगन्नाथ गाउँपालिकी ५ का गैकला दमाईले बताइन्।
उनले भनिन् भूकम्पले घर चर्किएको भएपनि आफूसँग अन्य केही व्यवस्था नहुँदा यसै घरमा बास बस्ने गरेकी छु।
“बाहिर बसौँ चिसो छ, भित्र बसौँ फेरि भूकम्प आएर च्यापिने चिन्ता छ, अन्त जाउँ कतै ठाउँ छैन।” बाहिर चिसो भएकाले ज्यान जोखिममा राखेर यसै घरमा बास बस्न बाध्य भएको दमाईले बताइन्। गौमूल, हिमाली, बुढीगंगा, बढी मालिका लगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिराचिरा पार्यो।
अहिले फेरि यही पुष ६ गते गएको भूकम्पले जगन्नाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा रहेका छन्। यहाँका अधिकांश गाउँमा प्राय: माटो र ढुङ्गाले घर निर्माण गर्ने गर्छन्। यहाँ पटकपटक गएको भूकम्पले पनि यिनै घरमा क्षति गर्ने गरेको छ। यहाँका स्थानीयलाई अहिलेसम्म भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्नु परेको छ। लामो समयसम्म पुनः निर्माणको काम नभएपछि उनीहरूलाई अहिले चिसोमा पनि चर्किएको घरमा बास बस्नु परेको हो।
घर सबै चिराचिरा परेका छन्। उनीहरुलाई त्यो घरमा बास बस्न समस्या छ। अहिले उनीहरूलाई तत्काल त्रिपालको व्यवस्था गरेको भए पनि उनीहरूलाई घरबासका लागि भने समस्या भएको जगन्नाथ गाउँपालिका ५ की वडाध्यक्ष गौरी कार्कीले बताइन्।
पुष ६ गते गएको भूकम्पले घर क्षति भएकालाई अहिले त्रिपाल भाडावर्तनको वितरण गरेको जिल्ला विपद व्यवस्थापन समिति बाजुराका आयोजक तथा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए। उनले भने, “२०७९ सालमा गएको भूकम्पले यहाँका धेरै घरमा क्षति भएका छन्।
उनीहरूले पनि पहिलादेखि अहिलेसम्म घरवास व्यवस्थाका लागि माग गर्दै आएका छन्। यहाँका भूकम्प पीडितको घरवासका लागि गृहमन्त्रालयसँग १५ करोड रुपैयाँ माग गरेको बताउँदै उनले उताबाट त्यो रकम आएपछि पीडितका लागि अस्थायी टहराको व्यवस्थापन गरिने बताए।
प्रतिक्रिया दिनुहोस्