धनगढी । कैलालीमा वन कार्यालयले नै काठ तस्करीको संरक्षण गरेको पाइएको छ । खुलेयाम काठ तस्करी गरेको फेला पर्दा पनि सब डिभिजन बन कार्यालय अत्तरियाले तस्करी गर्नेलाई उन्मुक्ति दिएको पाइएको हो ।
डिभिजन बन कार्यालयका कर्मचारीकै मिलेमतोमा गोदावरी नगरपालिकास्थित जागृति सामुदायिक वनमा खुलेयाम काठ तस्करी गर्नेहरुलाई उन्मुक्ति दिइएको स्थानीयले आरोप लगाएका छन् ।
मंगलबार वनमा काठको अवैध तस्करी हुँदै गरेको सूचनाका आधारमा स्थानीयहरुले तस्करी गर्न ठिक्का पारिएको खयर, सिसौ लगायतका काठका गोलियासहित तस्करीमा प्रयोग गरिएको से १ त ६४४९ नम्बरको ट्र्याक्टर र तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मा लगाएका थिए । तर, इकाला प्रहरी कार्यालयले ट्र्याक्टर, काठ र तस्करीमा संलग्न रहेका भनिएकाहरुलाई सब डिभिजन कार्यालय अत्तरियाको जिम्मा लगाएको थियो ।
तर तस्करीमा संलग्नहरुलाई काठसहित बुझाउँदा कारवाही गर्नुपर्ने बेलामा वन कार्यालयले उल्टै उन्मुक्ति दिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार तस्करी भइरहेको स्थानमा तस्करी गर्ने समूह र स्थानीयबीच भनाभनसमेत भएको थियो । सोही क्रममा वनमा खुलेयाम काठ काटिरहेकाहरुसँग बन्चरो र आरा खोस्ने क्रममा सामुदायिक वनका अध्यक्षको हात काटेको पनि स्थानीयले बताएका छन् ।
यता सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कँडेलले भने तस्करी गर्नेलाई उन्मुक्ति दिएको कुरा गलत भएको दाबी गरेका छन् ।
उनले तस्करीमा संलग्न भनिए पनि उनीहरुले काटेको काठ सानोसानो भएको र तस्करीकै प्रयोजन भएको नखुलेपछि छोडिएको बताएका छन् । तर वन कार्यालयका कर्मचारीको मिलेमतोमा ठूला गोलिया लुकाइएको प्रसंगमा उनले त्यसबारे आफूलाई थाहा नभएको र त्यस्तो नभएको भन्दै पन्छिन खोजेका छन् । बरु उल्टै पञ्चकोटी सामुदायिक वनको पर्ची आएपछि उनीहरुलाई छोडिएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्