गेटा आँखा अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्यो, डाक्टर कम हुँदा सेवा प्रवाहमा समस्या

स्मृति के.सी

धनगढी । कैलालीको गेटा आँखा अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । पछिल्लो केही दिनयता आँखाका बिरामीहरुको चाप ह्वात्तै बढेपछि गेटा आँखा अस्पतालमा बिरामीको चाप बढ्नुका साथै सेवा प्रवाहमा पनि कठिनाई देखिएको छ ।

बिरामीको चाप बढे पनि सेवा गुणस्तर र चुस्तदुरुस्त नभएको डोटीको आदर्श गाउँपालिका ५ का हर्केस कट्वालले गुनासो गरेका छन् ।

हजुरआमाको उपचारका लागि गेटा आँखा अस्पताल पुगेका उनले अस्पतालमा डाक्टर समयमा नआउने र लामो समय लाइनमा कुर्नुपर्ने बाध्यता भएको दुखेसो पोखेका छन् । ‘समयमा डाक्टर आउँदैनन्, एकछिनमै हुनुपर्ने कामका लागि पनि घण्टौँ लाइनमा बस्नुपर्छ’, उनले भने, ‘सेवासुविधा खासै राम्रो नहुँदा समस्या भएको छ ।’

त्यस्तै उनले साधारण टिकट काट्दा पनि उही सेवा र इमर्जेन्सी सेवाको टिकट काट्दा पनि उही सेवा हुँदा इमर्जेन्सी केसका बिरामीहरु थप मर्कामा परेको कट्वालले गुनासो गरेका छन् ।

उपचारकै लागि गेटा पुगेकी तुली विकले पनि समयमा उपचार नपाउँदा दुःख पाउनुपरेको गुनासो गरेकी छिन् । ‘उपचारको लागि बिहानै अस्पताल पुगेकी हुँ’, उनले भनिन्, ‘घण्टौँ लाइनमा बस्दा पनि पालो पाइँदैन ।’ आँखाको उपचारका लागि अन्य ठाउँभन्दा गेटा आँखा अस्पताल राम्रो भए पनि समयमा उपचार नपाउँदा समस्या भएको उनले बताएकी छिन् ।

सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालमा सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्ला मात्र होइन, भारतका विभिन्न शहरबाटसमेत बिरामीहरु आउने गर्छन् । शुक्रबार उपचारका लागि भारतको पिलिभितबाट गेटा आँखा अस्पताल आएका सोहन लालले अस्पतालको उपचार र सेवाबारे प्रसंसा गरेका छन् । भारतको तुलनामा गेटा आँखा अस्पतालमा कम खर्चमा राम्रो उपचार पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यता गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोबिन्द प्रसाद जोशीले अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्दा सेवा प्रवाहमा सामान्य असर परे पनि सम्पूर्ण सेवाहरु नियमित रुपमा प्रवाह भइरहेको बताएका छन् । अर्कोतर्फ अस्पतालमा भएका कुल ९ जना डाक्टरमध्ये तीनजना डाक्टर फिलोसिप अध्ययनका लागि गएकाले केही मात्रामा चिकित्सकको अभाव भएको स्वीकारेका छन् ।

जोशीका अनुसार हाल गेटा आँखा अस्पतालमा रेटिना, कर्निया, मोतिबिन्दुको अपरेशन, अकुलो प्लास्टिक लगायतका समस्या भएका बिरामीहरुको उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार