बाजुरा : खप्तड छेडेदह गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटी शाखा बाजुराले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ । पालिकाका हरेक समुदायको विपद् प्रतिकार्य क्षमता बढाउन तथा खोज उद्वार कार्यमा सहयोग होस् भन्ने उद्देश्यले २६ किसिमका सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराले बताएको छ ।
रेडक्रस सोसाइटीले सेफ्टी हेल्मेट, रेनकोट, मास्क, बुटजुत्ता, पन्जा, टर्चलाइट, सिट्टी, ट्रेकिंग झोला, हेण्ड माइक, हतौडा, तार कटर लगायतका साम्रगीहरु हस्तान्तरण गरेको जनाएको छ । बिहीबार रेडक्रसले सुरक्षित नेपाल परियोजनामार्फत विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो ।
रेडक्रसका विपद् जोखिम न्यूनीकरण सहायक नेत्रबहादुर कठायतले रेडक्रस सोसाइटी बाजुराले जिल्लाका २ पालिकामा २०२४ जनवरी देखि २०२५ डिसेम्बरसम्म सुरक्षित नेपाल परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्य गरिरहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपदबाट अति प्रभावित बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका छनौट गरेपछि रेडक्रसले विपद् प्रतिकार्यका कामहरु गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्