कैलाली : कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ । यहि शनिबार केबलकार निर्माणको शिलान्यास गरिने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय भएको सञ्चालक सूर्यबहादुर थापाले जनाएकाछन् ।
केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो ।
अध्यक्ष ढकाल चन्द्रागिरि केबुलकारका सञ्चालकसमेत हुन् । थापाका अनुसार सात अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कुल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । दस मिनेटको यात्रा दुरी रहने केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने गरी डिपिआर निर्माण भएको सञ्चालक थापाले जानकारी दिए ।
केबलकारको यात्रामा कर्णाली नदी, जाल्पादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ ।
यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० शय्या र राजकाँडामा एक सय शय्या क्षमताका होटेल र सभाहल पनि निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेसन कर्णाली चिसापानीमा रहने जनाइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससँगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्