धनगढी : डडेल्धुराका ५८ वटा विद्यालयमा सुदूरपश्चिम प्रदेश सरकार विभिन्न संरचना निर्माण गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास कार्यालय डडेल्धुराका अनुसार चालू आर्थिक वर्षमा जिल्लाका ५८ विद्यालयमा योजना परेको हो ।
कार्यालय प्रमुख राधाकृष्ण जोशीले विद्यालयहरुमा पाँच लाखदेखि ३५ लाखसम्मका योजना परेको जानकारी दिए । ‘दुई कोठे भवन निर्माणबाहेक अन्य साना योजना भने स्थानीय तहलाई हस्तान्तरण गर्दै कार्यान्वयनका लागि पठाएका छौं,’ उनले भने ।
विद्यालयमा भवन निर्माण, शौचालय निर्माण, घेरबार, कम्प्युटर ल्याब र खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिएको सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जानकारी दिइन् । ‘विद्यालयहरुमा आवश्यकताका आधारमा योजना हालेका छौं,’ उनले भनिन्, ‘धेरै विद्यालयमा छात्रा शौचालयको अभाव रहेको थियो । यसपटक विभिन्न छात्रा शौचालय निर्माणका लागि पनि बजेट छुट्याएका छौं ।’
यस्तै विद्यालयबाहेक विभिन्न स्थानमा बर्थिङ सेन्टर निर्माण, खेल मैदान निर्माणका लगायतका योजनाका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्