बैतडी : बैतडीका क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बर्षेनी कम हुँदै गएका छन् । स्नातक तहमा भर्ना हुने विद्यार्थीहरुको संख्या हरेक बर्ष कम हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख डा.सुरेन्द्रकुमार बमले बताए ।
जगन्नाथ बहुमुखी क्याम्पसमा पहिला स्नातोकोत्तरसम्मको पढाई हुने भएपनि पछिल्लो समयमा स्नातक तह सम्मको मात्रै पढाई हुने गरेको छ । स्नातोकोत्तरमा समेत सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थी नै भर्ना नभएका क्याम्पस प्रमुख बमले बताए ।
शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्यापन हुँदै आएको क्याम्पसमा हरेक बर्ष विद्यार्थी संख्या घट्दै गएको छ । पछिल्लो समयमा उच्च शिक्षाप्रति विद्यार्थीहरुको रुचि नै नरहेको क्याम्पस प्रमुख बमले बताए । उनले भने ‘पछिल्लो समयमा क्याम्पसमा भर्नादर न्यून रहेको छ । भर्ना भएका विद्यार्थीहरु पनि बीचमै छोड्ने दर बढेको छ ।’
२०७४ सालमा साढे पाँचसय विद्यार्थी अध्ययनरत रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा अहिले २ सय जना विद्यार्थीमात्रै अध्ययनरत रहेका छन् ।
जगन्नाथ बहुमुखी क्याम्पसमा मात्रै नभएर जिल्लाका सबैजसो क्याम्पसहरुमा विद्यार्थी भर्नादर घट्दै गएको बताइएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकास्थित पुर्चौंडी बहुमुखी क्याम्पसमा पनि हरेक बर्ष विद्यार्थीको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख विनोद भण्डारीले बताए ।
उच्च शिक्षा अध्ययन गर्नुको साटो विद्यार्थीहरु विदेश पलायन हुने क्रम बढेकाले उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख बमको भनाइ छ । स्नातक तह चार बर्षे बनाउँदा समेत समस्या निम्त्याएको उनले बताए । उनले भने ‘विद्यार्थी संख्या कम हुने एकमात्रै कारण छैन् । बहुपक्षीय कारणले उच्च शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ ।’
पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको सेटीगाउँ बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र जोशीले बताए । उच्च शिक्षाभन्दा वैदेशिक रोजगारीमा जान चाहनेहरुको संख्या बढीरहेको उनले बताए । एसईई उत्तीर्ण गर्ने बित्तिकै पढ्नुभन्दा वैदेशिक रोजगारीमा इच्छा राख्नेहरुको संख्या बढ्दै गएको र यसले क्याम्पसहरुमा विद्यार्थी संख्या कम हुँदै गएको उनको भनाइ छ ।
पुर्चौंडी बहुमुखी क्याम्पसले विद्यार्थी भर्नादर बढाउन पुर्चौंडी नगरपालिका क्षेत्रभित्रका कक्षा १२ सम्म पढाई हुने विद्यालयहरुमा भेटघाट अभियान समेत सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्