काठमाडौं । आईसीसीले भारतीय टिमका ब्याट्सम्यान विराट कोहलीलाई जरिवाना गरेको छ ।
आईसीसी म्याच रेफ्रीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गरेका हुन् । साथै, उनलाई एक डी-मेरिट अङ्क पनि दिइएको छ ।
कोहलीको अशोभनीय हर्कतका कारण आईसीसीले उनलाई यो सजाय दिएको हो ।
३७ वर्षीय कोहलीले १९ वर्षीय अस्ट्रेलियाका युवा ओपनर साम कन्स्टासलाई मैदानको बीचमा जानाजान धकेलेका थिए, त्यसपछि दुबैबीच भनाभन भएको थियो ।
यो घटना मेलबर्न टेस्टको पहिलो दिनको हो, जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कोहली लेभल १ मा दोषी ठहर भएका छन् । यो राहतको कुरा हो कोहलीको लागि । यदी आईसीसी नियम २ ।१२मा दोषी ठहर भएको भए उनले ४ डीमेरिट अङ्कसँगै सिड्नीमा हुने टेस्ट खेलमा प्रतिबन्ध हुनसक्थो ।
खेल सकिएपछि कोहली म्याच रेफ्री एन्डी पाइक्राफ्टसमक्ष हाजिर भएका थिए, जहाँ उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । त्यसपछि म्याच रेफ्रीले कोहलीको म्याच फीको २० प्रतिशत कट्टा गर्ने आदेश दिएका थिए ।
मेलबर्न टेस्टमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । डेब्यू गरेका साम कोस्टान्सले धमाकेदार ब्याटिङ गर्दै आँधीबेहरी रन बनाए । उनले ६५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको योगदान गरे ।
जब १९ वर्षका कोस्टान्स जसब्रित बुमराहजस्ता दिग्गज खेलाडीलाई चौका प्रहार गर्दै थिए, कोहलीले उनलाई उक्साउन अस्ट्रेलियाको स्लेजिङको तरिका अपनाए ।
१०औं ओभरपछि कोहलीले आफ्नो छेउबाट हिँडिरहेका कोस्टासलाई जानाजान धक्का दिए । त्यसपछि दुबैबीच भनाभन भयो र सहकर्मी उस्मान ख्वाजा र अम्पायरले मामिलाको समाधान गरेका थिए ।
कोहली लेग साइडमा आफ्नो फिल्डिङ पोजिसनमा उभिरहेका थिए र ओभर सकिएपछि उनी आफ्नो स्थानबाट अगाडि जाँदै थिए र बल हातमा लिएर पिच नजिक आएका थिए ।
त्यहाँबाट अर्को छेउबाट साम कोस्टान्स ख्वाजातर्फ अगाडि बढ्दै थिए । दुबैको काँध एकापसमा ठोक्कियो । यसपछि दुबैबीच केही भनाभन भयो । सो क्रममा कोहली धेरै नै आक्रामक देखिएका थिए ।
कोहलीको अशोभनीय हर्कतलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनी प्राय: जसो खेलमा यस्तै हर्कत गर्न माहिर छन् ।
यसअघि तेस्रो टेस्टमा भारतीय बलर मोहम्मद सिराजले अष्ट्रेलियन ब्याटर ट्राभिस हेडमाथि यस्तै हर्कत गरेका थिए । उनलाई आईसीसीले दण्डितसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्