बैतडीमा जलवायु अनुकूलन खेतीका लागि जैविक मल तयार गर्ने चलन कायमै

धनगढी : रासायनिक मलको प्रयोगले परनिर्भरता बढेका बेला बैतडीका ग्रामीण भेगमा अहिले पनि पतेला (पतकर) बटुलेर जैविक मल तयार गर्ने चलन कायमै रहेको छ । यद्यपि पछिल्लो समय यो चलन हराउने अवस्थामा पुगेको छ । उत्पादन बढाउने नाममा युरिया, डिएपी जस्ता रासायनिक मलको प्रयोग बढ्न थालेको छ । पुर्खाको ज्ञान र सिपको उपयोगबाट तयार गरिने यो मल जलवायु अनुकूलन खेती गर्न वरदान साबित हुने देखिएको छ ।

वनजङ्गलमा सुकेर झरेका रुखका पातलाई जालमा बटुलेर गोठेमल तयार गर्ने सुदूरपश्चिमका पहाडी जिल्लाको पुरानो चलन हो । यहाँका किसानले भिमल र केतकीको रेसाबाट तयार गरिने जालमा पात बटुल्ने गरेका छन् । पछिल्लो समय भैँसीपालन घट्न थालेपछि पात बटुलेर गोठेमल तयार गर्ने परम्परा हराउन थालेको छ ।

धनगढी सूचना

ग्वाल्लेक, सिगास, खोड्पे, पुर्चौडी, सतबाँझलगायतका क्षेत्रका थोरै मात्र किसानले जालमा पतकर बटुलेर गोठेमल तयार गर्दै आइरहेका छन् । गोठेमलले खेतीपाती राम्रो सप्रिने भएकाले यसको प्रयोग गर्ने गरेको सिगास गाउँपालिका–१, जुकेपानीका किसान दानसिंह ऐरीले बताए ।

जैविक मल प्रयोग गर्दा पानी नभए पनि हुने अगुवा किसान ऐरीले बताए । पतकरको मल जलवायु अनुकूलन खेतीका लागि राम्रो मानिए पनि स्थानीय तह र प्रदेशस्तरका कृषि र पशुपालनका कार्यक्रममा प्राथमिकता नपाएको ऐरीको गुनासो छ ।

रासायनिक मलको प्रयोगपछि सिँचाइ चाहिने भएकाले पानीको समस्याका कारण स्याउला, सोत्तर र पतकर बटुलेरै तरकारी खेती गर्दै आइरहेको उहाँले बताए । जैविक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै रैथाने बाली जोगाउन सहयोग पु¥याए पनि स्थानीय सरकारको योजनामा यो विषयले प्रवेश पाउन सकेको छैन । प्रदेश सरकारबाट सञ्चालन हुने कार्यक्रमको अवस्था पनि उस्तै छ ।

जैविक मलका लागि छुट्टै बजेट नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाटन बैतडीका कार्यालय प्रमुख गुमानी पन्तले बताए । उहाँले यो वर्ष प्रदेश सरकारबाट ६० लाख रुपियाँ बजेट भैँसी प्रवर्धनका लागि आएको बताए । कार्यक्रम सञ्चालन गर्दा जैविक मलका बारेमा मौखिक रूपमा किसानलाई जानकारी भने दिने गरेको पन्तले बताए ।

जलवायु परिवर्तनको असरले पानीका मुहान सुक्दै जाने, वर्षा कम हुँदा सुक्खा र लामो खडेरी हुँदै गएको अवस्थामा जैविक मलको प्रयोग नै राम्रो विकल्प भएको भूमि अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका स्थानीय नरिराम लोहारले बताए । उहाँले भने, “रासायनिक मल हालेपछि सिँचाइ पनि चाहिन्छ । पहाडका डाँडाकाँडा त्यसै पनि सुक्खा छन् । आकासेपानीको भरमा खेती गर्ने किसानले जैविक मलको प्रयोग गर्दै आइरहेका छन् । यो राम्रो कुरा भए पनि सरकारीस्तरबाट प्रोत्साहन मिलेको छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार