धनगढी : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत सञ्चालित गेटा अस्पतालमा आइसियु, ओटी (अपरेसन थेयटर) सुविधा विस्तार हुन थालेको छ । अस्पतालमा ५ वटा ओटी, आइसियु, एनआइसियु सेवा विस्तारको काम भइरहेको अस्पतालका निर्देशक डा. अशोक श्रीपाइलीले बताए ।
उनले हाल एक ओटी सञ्चालनमा रहेको र, थप ५ वटा ओटी निर्माण भइरहेको बताए । अस्पतालमा ९ वटा ओटी सञ्चालनका लागि भौतिक संरचना निर्माण गरिएको छ । अस्पतालमा हाल १२ शय्याको आइसियु, एनआइसीयु सेवा पनि विस्तार भइरहेको निर्देशक श्रीपाइलीले बताए ।
कार्तिक १ गतेदेखि सञ्चालनमा आएको गेटा अस्पतालमा हाल ओपिडी, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, इन्डोस्कोपी, एक्स–रे सेवा, प्रयोगशाला सेवा, डेन्टल, फार्मेसी लगायतका सेवा सञ्चालनमा रहेका छन् । अस्पतालमा ब्लड बैङ्क र अक्सिजन प्लान्टको संरचना पनि निर्माण गरिएको छ । अस्पतालमा हाल बिरामी भर्ना पनि गर्ने गरिएको निर्देशक श्रीपाइलीले बताए ।
उनले हाल अस्पतालमा ५० बेड सञ्चालन गर्ने अनुमति पाइएको बताए । यद्यपि अस्पतालमा ६ सय बेड सञ्चालन गर्न सकिने भौतिक संरचना २ वर्ष अघि नै निर्माण सम्पन्न गरिएका थिए । गोदावरी नगरपालिका – ५ का अशोक मल्लले अहिले अस्पतालमा सेवा सन्तोषजनक पाइएको बताए । छोरीको उपचारका लागि अस्पतालमा आएका उनले फार्मेसिमा भने सबै औषधी नपाइएको बताए । ‘सुरुवाती अवस्थामा ठिकै छ । चित्त बुझाउन सकिन्छ’ उनले भने ‘प्रारम्भिक चरणमा यतीको सेवा सन्तोषजनक नै हो ।’
जनशक्ति अभाव
५० बेडको अस्पताल अस्पताल सञ्चालनका लागि सरकारले चिकित्सकसहित १४१ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको भए पनि अझै पदपूर्ति हुन सकेको छैन । हाल अस्पतालमा ८९ जना मात्रै कार्यरत रहेको अस्पतालका निर्देशक सूचना अधिकारी ननसिंह कार्कीले बताए । हाल अस्पतालमा २१ जना डाक्टरको दरबन्दी रहेकोमा १५ जना कार्यरत रहेका छन् ।
त्यस्तै ४७ जना स्टाफ नर्सको दरबन्दीमा २२ जना कार्यरत छन् । अस्पतालमा पारामेडिक्समा ३५ जनाको दरबन्दी रहेकोमा २३ जना, अफिस असिस्टेन्टमा ३२ जना दरबन्दी रहेकोमा २३ जना कार्यरत रहेका छन् । एडमिनिस्ट्रेटिवमा भने ६ जनाको दरबन्दी रहेकोमा ६ जना नै कार्यरत रहेको सूचना अधिकारी कार्कीले बताए ।
६ सय शय्याको अस्पताल र मेडिकल शिक्षा सञ्चालन गर्ने उद्देश्यसहित गेटामा ७ अर्ब रुपैयाँ खर्च गरिएको भए पनि हाल अस्पताल भने ५० शय्यामा मात्रै सञ्चालनमा रहेको छ । २ वर्ष अघि नै अस्पताल, मेडिकल कलेज सञ्चालन गर्नको लागि भौतिक संरचना निर्माण गरिएका भए पनि ती भवन हाल प्रयोग विहीन बनेका छन् ।
सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदबाट गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेको थियो । सोही अनुसार हाल विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विचाराधीन अवस्थामा रहेको छ । उक्त विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्