धनगढी : नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीको डिपो अन्तै सार्ने योजना छ। धनगढीको चटकपुरस्थित घना बस्तीको बिचमा रहेको निगमको डिपो सार्ने योजना पहिल्यैदेखिको भए पनि काम भने हुन सकेको छैन।
घना बस्तीको बिचमा रहेको डिपोका कारण वरपरका स्थानीय त्रासमा छन्। डिपो सार्न स्थानीयले पटकपटक आयल निगमसँग आग्रहसमेत गर्दै आएका छन्। बिच बस्तीमा रहेको डिपो सार्न धेरैपटक निगमसँग आग्रह गरिसकेको स्थानीय विष्णुदत्त खत्रीले बताए।
धनगढीस्थित आयल निगमको प्रादेशिक डिपो कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आइबिआरडीमा स्थानान्तरण गर्ने निगमको योजना छ। राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गामा डिपो स्थानान्तरणको तयारी छ। तर त्यसका लागि ठोस पहल भने भइसकेको छैन। निगमले डिपो सार्न छनोट गरेको क्षेत्रमा पनि बाक्लो बसोबास छ। सो क्षेत्रमा पनि बस्ती बढ्दै गएको छ।
डिपो सार्न छनोट गरिएको स्थान पुनर्वास नगरपालिका वडा नम्बर ३, ५ र ६ वडालाई छोएको छ। पुनर्वासमा आवास कम्पनीको नाममा करिब ७४ बिघा जमिन छ। त्यसमध्ये २२ बिघा जमिन किनेर डिपो स्थापना गर्ने निगमको योजना छ। धनगढी डिपोमा अहिले ८ सय ३० किलोलिटर पेट्रोल, एक हजार ५९० किलोलिटर डिजल र ७० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ।
डिपोको पेट्रोल र डिजल भण्डारणले प्रदेशको बढीमा ७ दिनसम्मको माग धान्छ। कम्पतीमा ९० दिनलाई पुग्ने गरी नयाँ स्थानमा डिपो बनाउने निगमको योजना छ। भण्डारण क्षमता विस्तारका लागि डिपो सार्न लागिएको आयल निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरिदत्त जोशीले बताए।
यसअघि डिपो सार्न गोदावरी नगरपालिका–८ स्याउलेको शिवशक्ति महिला सामुदायिक वनको जग्गा पनि हेरेको थियो। तर आइबिआरडी सार्नेकी गोदावरी भन्नेमा अहिले नै एकीन भने भइनसकेको आयल निगमले जनाएको छ। ‘डिपो सार्ने विषयमा अहिले छलफल जारी नै छ। गोदावरी सार्ने की आइबिआरडी भन्ने विषयमा छलफल जारी नै भएकाले अहिले नै स्थान एकीनका साथ भन्न सकिने अवस्था छैन’, आयल निगम धनगढीका प्रमुख जोशीले भने।
प्रतिक्रिया दिनुहोस्