काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ ।
कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
‘उनी युवा खेलाडी भए पनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्, उनी भाइपर्सको सेटअपमा महत्त्वपूर्ण खेलाडी हुनेछन्’, मुडीले भनेका छन् ।
मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीले बताए । उनको १४७ हाराहारीको स्ट्राइक-रेटले उनको क्षमता स्पष्ट पार्ने समेत उनले बताए । उनलाई भाइपर्समा आबद्ध भएर थप अनुभव मिल्न पनि सहयोग हुनेछ ।
मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए । उनको टिम चौथो भएको थियो । उनले प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका थिए ।
उनले टी-२०आईमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन् । उनले टी-२०आईमा ४७ खेलमा ९१७ रन बनाएका छन् भने १९ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्