प्रेमविवाह, सँगै संघर्ष, सँगै अधिकृत

Call24News

कालीकोट : रास्कोट नगरपालिका–८ का ३० वर्षीय ध्रुव बराल र २६ वर्षीया सुयिन्का न्यौपाने (बराल) ले कृषि सेवामा कर्णाली प्रदेश लोक सेवाको सातौं तहमा नाम निकालेर गृहजिल्लामै सिफारिस भएका छन् । कलेज जीवनदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले परिवारकै सहमतिमा २०८० वैशाख २० मा विवाह गरेका थिए । उनीहरू दुवैका बुबा शिक्षक हुन् भने आमा गृहिणी । बुबा शिक्षक भएका कारण अन्य स्थानीय युवाको तुलनामा आर्थिक अभाव कम भोगे पनि उनीहरूले कर्णालीको सामाजिक कुसंस्कार, कुरीति, लैंगिक तथा जातीय विभेद र असमानता देखेरभोगेका छन् ।

देशभित्रै केही गर्न सकिन्छ भन्ने आम युवामा आशा हराएझैं उनीहरूमा पनि एक समय विदेश मोहले गाँजेको थियो । उच्च शिक्षा पूरा गरेर विदेश जाने योजनाका साथ विवाह गरेका बराल दम्पतीको जीवनमा लोक सेवाको सफलताले नयाँ मोड लियो । लोक सेवाको सफलतापछि उनीहरूले विदेशिने योजना रद्द गरेका हुन् । ‘अब विदेश जाने सपना छाडिसकेका छौं । दुवै जना सरकारी सेवामै रहने निधोमा पुगिसक्यौं,’ गत कात्तिक १४ मा लोक सेवा पास गरेर श्रीमतीसाथ गृहजिल्लामै सिफारिस भएका ध्रुवले भने, ‘अब संघीय सरकारको माथिल्लो पदमा पुग्ने दुवैको लक्ष्य छ ।’ प्रदेश सेवामा दायरा साँघुरो भएकाले श्रीमान्–श्रीमतीबीच संघीय लोक सेवाको तयारी गर्ने सल्लाह भइरहेको सुनाए । बराल दम्पतीले दुई वर्षअघि लोक सेवाको फारम भरेका थिए । मुद्दा परेर प्रक्रिया स्थगित भएपछि विदेशिने सोच पनि बनाए । तर गत जेठमा आयोगको परीक्षाबारे अदालतबाट टुंगो लाग्यो । गत भदौमा सञ्चालन भएको परीक्षामा सफल भएपछि ध्रुव कालीकोट सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको कृषि शाखा प्रमुख र सुयिन्का आफ्नै गृहनगर रास्कोटको कृषि शाखा प्रमुखको रूपमा हाजिर भए । बराल दम्पती सेवा प्रवेश गरेपछि सेवाकालीन तालिम लिने तयारीमा छन् ।

Seti Hospital

अन्न, तरकारी र फलफूलका लागि अन्य स्थानीय तहको तुलनामा राम्रो सम्भावना बोकेका पालिकामा पढेलेखका युवा अधिकृत कृषि शाखा प्रमुख भएर आएपछि स्थानीय पनि खुसी छन् । पालिकाले कृषिमा नयाँ प्रविधि भित्र्याउने र सामान्य कृषकलाई पनि लाभ हुने खालका कार्यर्क्रम लागू हुने आशा गरेका छन्, खाडाचक्र–३ का अगुवा कृषक पर्वानन्द पाण्डे । ‘सिँचाइ सुविधा, राम्रो बिउबिजन र उपकरणको अभावले हामीले खेतपाती गरे पनि खानकै लागि पनि उत्पादन गर्न सकेका छैनौं,’ उनले भने, ‘अब पढेका नयाँ कर्मचारी आउँदा केही राम्रो काम गर्लान् कि भन्ने आशा छ ।’ पाण्डे ताडी गाउँमा सबैभन्दा बढी तरकारी र फलफूल उत्पादन गर्ने कृषकका रूपमा चिनिन्छन् । उनले छोरालाई पनि जेटीए पढाएर कृषि कर्ममा लगाएका छन् । कृषि विषयमा स्नातकोत्तर ध्रुवले कृषिलाई आत्मसम्मानको पेसा बनाउन कोसिस गर्ने बताए । उनले खाडाचक्र नगरपालिकामा गर्मीमा फल्ने आँप, केरादेखि चिसोमा हुने स्याउ, ओखरसम्मका फलफूल, सबै खालका तरकारीमा आलु, काउली, बन्दा, गोलभेंडा, अन्नमा मकै, धान, गहुँ, कोदो, सिमीसहित पशुपालनमा भैंसी, भेडाबाख्रा, कुखुरापालनको सम्भावना राम्रो देखिएको सुनाउँदै त्यसका लागि सीप र प्रविधिमा जोड दिने बताए ।

बुबा गणेशप्रसाद बराल शिक्षक रहेको फुकोटस्थित पिंगलादेवी आधारभूत विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका ध्रुवले १० कक्षासम्म पुग्दा ५ वटा विद्यालय फेरेको बताए । ‘मेरो त विद्यालय जीवन डुल्दैरफिर्दै बित्यो । मावि तहसम्म पास गर्न गाउँदेखि सुर्खेत, काठमाडौं फेरि कालीकोट गरेर ५ वटा विद्यालय चहारें,’ उनले भने, ‘यसले मलाई फरक ठाउँमा बस्ने अनुभव र नयाँ साथी बढाउन पनि सहज भयो ।’ गाउँकै बडिमालिका माविबाट प्रथम क्षेणीमा एसएलसी उत्तीर्ण गरेर काठमाडौंबाट आईएस्सी पास गरेका उनले स्नातक र स्नातकोत्तर चितवनको रामपुरबाट पूरा गरे । पाँच सन्तानमध्येका जेठा ध्रुवका बुबा शिक्षक भए पनि गाउँमा कृषि कर्म गर्थे । त्यसैले उनले छोरालाई कृषि विषय पढाएको बताए । उनको रास्कोटको सिप्टी विशालीको लेकमा स्याउ फाराम छ भने फुकोटमा धान र तरकारी खेती हुने जमिन छ । कृषि पढेपछि जागिर नपाए पनि खेतीकिसानी गर्न सहज होला भनेर छोरालाई कृषि पढ्न लगाएको गणेशप्रसादले बताए । बुबाको रोजाइसँग आफ्नो पनि रुचि मिलेकाले मन लगाएर उत्कृष्ट अंकसहित सबै परीक्षा उत्तीर्ण गरेको ध्रुवले बताए ।

कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला गाउँ ९साविकको जुबिथा गाविस–३० की सुयिन्का सानैदेखि सुर्खेतमै हुर्किन्, बढिन् र पढिन् । बुबा इन्द्रप्रसाद न्यौपाने जागिरका लागि कालीकोटमै रहे पनि आमा रत्ना सुर्खेतमै बस्थिन् । बुबा कालीकोटमै बस्ने भएकाले बेलाबेलामा गाउँ आउँथे । उनले बीएस्सी पास गरेर ०७५ देखि आफ्नै तिलागुफा–३ स्थित महादेव माविमा २८ महिना पढाइन् । उनका बुबाले ३४ वर्ष गाउँमै शिक्षण पेसा गरे । पछिल्ला १५ वर्ष जिल्ला शिक्षा कार्यालयको स्रोत व्यक्तिका रूपमा जिल्लाका विद्यालय अनुगमन, शिक्षकको क्षमता विकास र कक्षाकोठाको शैक्षिक गुणस्तर वृद्धि र शैक्षिक योजना बनाउनका लागि काम गरे । शैक्षिक क्षेत्रबाट अवकाश भएपछि हाल उनको बसाइ सुर्खेतमै छ ।

सुयिन्काले सुर्खेतस्थित आदर्श माविमा अंग्रेजी माध्यमबाट अध्ययन गरेर बुलबुले भेरी एकेडेमीबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि काठमाडौंबाट आईएस्सी गरिन् । उनले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एनपीआईबाट कृषि तथा वन विज्ञानमा स्नातक गरिन् । जीवनको ऊर्जाशील उमेर शिक्षण पेसामा बिताए पनि इन्द्रप्रसाद कर्णालीको शैक्षिक गुणस्तरप्रति सन्तुष्ट छैनन् । ‘शिक्षण संस्था जागिर खाने थलोका रूपमा मात्र छन्,’ उनी भन्छन् । गुणस्तरीय शिक्षाका लागि न्यून लगानी, पछौटे चेतना, राजनीतिक हस्तक्षेप बाधक भएको कर्णालीमा रैथाने कृषि बाली र उत्पादनमा युवा लागे मात्र आत्मनिर्भर कर्णाली बन्न सक्ने इन्द्रप्रसादको तर्क छ । त्यही भएर आफू शिक्षा क्षेत्रको भए पनि छोरीलाई कृषि पढाएको उनले सुनाए । ०६९ मा सुर्खेतबाट प्रथम श्रेणीमा एसएसली उत्तीर्ण गरेर काठमाडौंस्थित माइलस्टोन इन्टरनेसनल कलेजबाट आईएस्सी उत्तीर्ण गरेकी सुयिन्काले भरतपुरस्थित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक इन्स्टिच्युटबाट ५ वर्षअघि बीएस्सीएजी पूरा गरिन् । सुयिन्का श्रीमान्को स्नातकोत्तर सकिएपछि सँगै विदेश जाने तयारीमा थिइन् । त्यही बेला उनले कर्णाली

प्रदेशको कृषितर्फ पाँचौं तहमा नाम निकालेर सुर्खेतको चिंगाड गाउँपालिकामा सिफारिस भइन् । प्राविधिक नायब सुब्बा तहमा लोक सेवा पास गरेर आफ्नै जिल्लामा जागिर पाएपछि उनको विदेश जाने मोह घट्दै गयो । उनले श्रीमान्लाई पनि अब विदेश नगई देशमा नै बसेर केही गर्न मन्जुर गराइन् । ‘विदेश पनि कहाँ सजिलो छ र रु कृषि पढेकालाई नेपालमै अवसर देखेर मेरो विदेश मोह भंग भयो,’ सुयिन्काले भनिन्, ‘अनि बल्लतल्ल श्रीमान्लाई पनि यतै बसेर लोक सेवाको तयारीमा लाग्न कन्भिन्स गरें ।’

सुयिन्काले सुर्खेतको चिंगाड गाउँपालिकामा कृषि शाखा प्रमुख भई सेवारत रहँदा महिला कर्मचारीलाई हेर्ने समाजको दृष्टिकोण पक्षपाती रहेको महसुस गरिन् । त्यस बेला सरकारी सेवामा प्रवेश गरेका महिलालाई पालिकामा काम गर्ने उचित वातावरण र हौसला नभएको उनको तीतो अनुभव रहेछ । ‘महिला भनेर विभेद गर्ने प्रवृत्ति रहेछ,’ उनले दुई वर्ष कृषि शाखा प्रमुखका रूपमा काम गर्दाको अनुभव सुनाइन्, ‘जनप्रतिनिधि, कर्मचारीकै पनि असहयोग भयो । लैंगिक विभेदको महसुस भएपछि अधिकृत बन्ने लक्ष्य बोकेर श्रीमान्लाई त्यहीं बोलाएर सँगै अध्ययनको योजना बनायौं ।’

पालिका अध्यक्ष र आफूभन्दा तल्लो तहका कर्मचारीले नियमविपरीतका काम गर्न दबाब दिए पनि आफूले ऐन, नियम र कार्यविधिभन्दा बाहिर जान नसक्ने भनेपछि आफूमाथि अनेक षड्यन्त्र गरेर शाखा प्रमुखबाट हटाउन खोज्नेसम्मको प्रयास भएको सुनाइन् । ‘महिला कर्मचारीले केही जानेका हुँदैनन् । जे भने पनि मान्नुपर्छ भन्ने दरिद्र मानसिकता देखियो,’ उनले भनिन्, ‘त्यही इखले अधिकृत बनेरै छाड्ने अठोटले लोक सेवाको तयारी गरें ।’ त्यसपछि चिंगाड गाउँपालिकामा सँगै बसेर बराल दम्पती अधिकृतको तयारीमा जुट्यो । ‘डेरामा बस्दा खाना पकाउने, कपडा धुने र भाडा माझ्ने कामसमेत बाँडफाँट गरेर लोक सेवाको तयारीमा जुट्यौं,’ उनले भनिन्, ‘एकसाथ दुवैलाई सफलता मिल्दा खुसी छौं ।’

ध्रुव बढी मिहिनेती छन् भने सुयिन्का पढेको चाँडो सम्झिने क्षमता राख्छिन् । चिंगाडमा बसेर उनीहरूले संयुक्त रूपमा अध्ययन गर्दै छलफल गर्थे । ध्रुवले दिउँसो गरेको सोधखोज, पढाइबारे अफिसबाट फर्किएपछि सुयिन्कालाई सुनाउँथे । एकले पढेको अर्कालाई साझेदारी गर्दा थोरै समयमा बुझ्न सहज भएको र यसले दुवैलाई सफलता हात पार्न सहज भएको उनीहरूको बुझाइ छ । ‘सँगै छलफल गरेर अध्ययन गर्दा विषयवस्तुको बुझाइमा थप स्पष्टता आउने रहेछ,’ सुयिन्काले भनिन्, ‘५ घण्टा पनि नसुतेर तयारी गर्‍यौं ।’ संयुक्त अध्ययन गर्दा पढाइ प्रभावकारी भएको ध्रुवको अनुभव छ । ‘एकले अर्काको सबल र कमजोर पक्षबारे छलफल गर्दा बुझाइमा पनि स्पष्टता आउने रहेछ । पढेको बुझ्न र विषयवस्तुमा स्पष्ट हुन छलफल निकै फलदायी हुने रहेछ,’ उनले भने । आफूहरूको सफलतामा मिहिनेतसँगै दुवैको परिवार र साथीहरूको सहयोग महत्त्वपूर्ण भएको बराल दम्पती सुनाउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार