धनगढी । सुर्तिजन्य र प्लाष्टिकजन्य पदार्थ बेच्नेविरुद्ध धनगढी उपमहानगरपालिका एक्सनमा उत्रिएको छ ।
लुकिलुकि सुर्तिजन्य र प्लाष्टिकजन्य पदार्थको बिक्री वितरण भइरहेको समाचार कल २४ न्युजले सार्वजनिक गरेपछि धनगढी उपमहानगरपालिका तत्काल एक्सनमा उत्रिएको हो ।
सुर्तिजन्य र प्लाष्टिकजन्य पदार्थरहित सहर बनाउने धनगढीको नीतिलाई मालपोत कार्यालय आसपासका व्यापारीले खुला चुनौती दिएको खबर कल २४ न्युजले शनिबार प्रकाशन गरेको थियो ।
लगत्तै आइतबार नगर प्रहरीसहित धनगढी उपमहानगरपालिकाको टोलीले मालपोत आसपासका पसलहरुमा छापा मारेको थियो ।
सोही क्रममा नगर प्रहरीसहितको टोलीले विभिन्न पसलहरुले लुकाइछिपाई सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य सामाग्री बेच्ने गरेको फेला पारेको थियो । यसरी धनगढीको नीति विपरित व्यापारीहरुले सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य सामाग्री बेच्नेगरेको पाइएपछि अनुगमन टोलीले ४ पसललाई जरिवाना तिराएको छ भने सुर्तिजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ ।
त्यस्तै, नगरप्रहरीसहितको टोलीले मालपोत क्षेत्र वरपर जथाभावी फालिएका प्लाष्टिकजन्य फोहोरहरु पनि नष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्