मोबाइल एपबाट कृषि सम्बन्धि जानकारी लिन थाले बैतडीका किसानहरु

Call24News

बैतडी :  बैतडीका किसानहरुले मोबाइल एपबाट कृषि सम्बन्धि जानकारी लिन थालेका छन् । जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका किसानहरुले ‘जिओ कृषि एप’बाट विभिन्न जानकारी लिने गरेका हुन् ।

सामाजिक चेतना तथा विकास संघ (साडा)ले सञ्चालन गरिरहेको दिगो आम्दानीमार्फत महिला उद्यमीहरुको सशक्तीकरण परियोजनाले एप सञ्चालनका लागि रिचार्ज उपलब्ध गराएपछि किसानहरुलाई सहज भएको हो ।

परियोजना अन्तर्गत गठन भएका महिला उद्यमी समूहमा आवद्ध सदस्यहरुलाई एप सञ्चालनका लागि हरेक महिना रिचार्ज उपलब्ध गराउने गरिएको साडा नेपालका कृषि प्राविधिक दिपेश धामीले बताए ।

सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा साडा नेपालले परियोजना अन्तर्गत २० ओटा महिला उद्यमी समूह गठन गरेको छ । प्रत्येक समूहका ५/५ जना गरेर एक सय जनालाई मासिक २ सयका दरले रिचार्ज खर्च उपलब्ध गराउने गरिएको साडा नेपालका परियोजना संयोजक भूपाल बोहराले बताए ।

‘जिओ कृषि एप’मा कृषि सम्बन्धि सबै कुराहरुको जानकारी हुने भएकाले समूहमा आवद्ध सदस्यहरुलाई सहज होस भनेर एप सञ्चालनका लागि रिचार्ज सहयोग गर्ने गरिएको साडा नेपालकी कृषि प्राविधिक लक्ष्मी भट्टले बताइन् । समूहमा आवद्ध महिला किसानहरुको मोबाइलमा एप डाउनलोड गरिएको छ भने उनीहरुलाई एप सञ्चालन गर्ने तरीकाका बिषयमा जानकारी दिइएको छ ।

जिओ कृषि एपमा किसानहरुका समस्याका बिषयमा जिज्ञासा राखेमा तुरुन्तै जवाफ पाइने भएकाले आफूहरुलाई सहज भएको सिगास गाउँपालिका–१ की पार्वती भट्ट जोशीले बताइन् । एपमार्फत बीऊबिजन, रोगकीरा, कीटनाशक बिषादीको प्रयोग, कृषि उपजको बजारीकरणका बिषयमा समेत जानकारी हुने उनले बताइन् । उनले भनिन् ‘हामीलाई कृषि सम्बन्धि केही समस्या भएमा एपका माध्यमबाट सहजै समस्याको समाधान गर्न सकिन्छ । यसले हामी दुर्गमका किसानहरुलाई सहज भएको छ ।’

कुनैपनि बालीनालीमा रोगकीरा लागेको फोटो पठाएमा फोटो हेरेरै एपबाट समस्या समाधानका बिषयमा जानकारी दिने गरिएको जोशीले बताइन् । यस्तै बारीमा तरकारी खेती लगाउने तरीका लगायतका बिषयमा समेत एफमार्फत जानकारी हुने गरेको उनले बताइन् ।

जिओ कृषि एपबाट आफूहरुलाई कृषि सम्बन्धि धेरै समस्या समाधानमा सहज भएको सुर्नया गाउँपालिका–६ की मानमती भट्टले बताइन् । भौतिक रुपमा कृषि प्राविधिकहरु उपलब्ध नहुने ठाउँमा जिओ कृषि एपले ठूलो सहयोग पुगेको उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार