धनगढी । धेरै टाढा फर्किनु नै पर्दैन, आजभन्दा ३ दशक मात्रै पछाडी फर्केर हेर्ने हो भने पनि हाम्रो समाजभित्र हावी संकिर्णताको जालो जताततै मडारिएको भेटिन्छ ।
संस्कृतिका नाममा अन्धविश्वास, परम्पराका नाममा कुप्रथा र अनुशासनका नाममा बन्देज प्राय हरेकको घरघरको काहानीजस्तै थियो । बोलि फुट्न नपाउँदै डोलि अन्माएर पठाउने चलनको अंश त कतिपय ठाउँमा अझै भेट्न सकिन्छ । श्रीमानको मृत्युमा श्रीमानको शवसँगै सति जानुपर्ने प्रथा त सम्झिँदा पनि आङ्ग सिरिङ्ग हुन्छ ।
त्यही परिवेशको साक्षि बनेकी भगवती भट्ट लामो समयदेखि गोदवारी धाममा माताको रुपमा सन्यासी जीवन व्यतित गर्दै आएकी छिन् ।
७ वर्ष हुँदै वैवाहिक जीवनमा बाँधिएकी भट्टले १५ वर्ष हुँदा श्रिमान् गुमाइन् । उनी भन्छिन्, ‘श्रीमान् बम्बईमा बित्नुभएको हो रे, खोई श्रिमान्को अनुहार कस्तो थियो भन्ने राम्रोसँग याद पनि छैन ।’ डोटीको कल्पयामा ब्राम्हण परिवारमा जन्मिएकी भट्टसँग स्वतन्त्रता भन्दा धेरै बन्धन र बाध्यता थियो । ‘बाउनको छोरी भएपछि आफूखुसी कहिँ जान र केही गर्न सक्ने अवस्था थिएन’, उनले भनिन्, ‘सामाजिक परिबन्धमै मेरो बाल्यकाल गुज्रियो ।’
बाल्यकाल नबुझ्दै पारिवारिक बन्धनमा बाँधिएपछि बाल्यकाल, खुसी केही कुराको पनि अनुभव गर्न नपाएको भट्ट बताउँछिन् । संस्कृतिका नाममा कुसंस्कारले दुःख पाएको उनको गुनासो छ ।
सानै उमेरमा परिवारको बोझ बोकेकी भट्टले २२ वर्षको उमेरमा सांसारिक मोह त्याग गरिन् र अध्यात्मतिर लागिन् । माता बनेर अध्यात्ममा लागेकी भट्ट अहिलेसम्म नेपालको पशुपतिदेखि भारतको गयासम्मका विभिन्न धार्मिक स्थल पुगि सकिन् । सांसारिक मोहबाट प्रताडित भएका हजारौँ नारी भेटि सकिन् भने सयौँलाई अध्यात्मको मार्गदर्शन गराइसकेको भट्टले बताइन् ।
‘माता बन्ने त्यो कठोर निर्णय नगरेको भए आज पनि म सामाजिक बन्धनमा हुन्थेँ, परम्परा र संस्कारको परिबन्धमा बाँधिनुपर्थ्यो’, उनले भनिन्, ‘आज म खुसी छु, जे भोगिरहेको छु त्यसबाट सन्तुष्ट छु ।’
हाल भट्टको माइती पनि पहाडबाट तराईमै सरेको छ । शान्त वातावरण, आफ्नै माटो र सन्तुष्टिको सास फेर्ने ठाउँ भेटेपछि गोदावरीलाई नै आफ्नो जीवनको अन्तिम कालसम्मको बासस्थान बनाएको भट्टले बताइन् । ‘सन्तान सुखभोग गर्ने रहर मलाई पनि थियो’, उनी भन्छिन्, भाग्यले दिएन, ‘अहिले यही माताकै जीवन प्यारो लाग्छ, यसैमा खुसी छु, सांसारिक सुखभन्दा प्राकृतिक सुखमा रमाइरहेको छु ।’
प्रतिक्रिया दिनुहोस्