काठमाडौं : सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतभित्र सुतेको तस्बिर भाइरल भयो । उक्त तस्बिरबारे टिप्पणी गर्दै हिजो रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहराले नेपाल प्रहरीमाथि प्रश्न गरेका थिए । उनको उक्त पोष्टपछि रास्वपाका थुप्रै समर्थकले समेत प्रहरीले तस्विर बाहिर ल्याएको भन्दै विरोध गरेका थिए ।
तर, आज उक्त तस्विर रास्वपाकै समर्थकले भाइरल गरेको पुष्टि भइसकेको छ । सो तस्बिर रास्वपा समर्थक डा निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको हो । भुसाल उक्त तस्बिर आफूले खिचेको स्वीकार गरेका छन् । उनले उक्त तस्विर प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । आफूले रविको अवस्थाबारे जानकारी दिने उद्देश्यले प्रहरीकै अगाडी सीसीटिभी स्क्रिनबाट तस्विर खिचेको उनले बताएका छन् । उनले कानुनविपरीत काम गरेको भए सजाय भोग्न तयार रहेकोसमेत बताइसकेका छन् ।
प्रहरीले लामिछानेलाई राखिएको हिरासत कक्षमा सीसीटीभी निगरानी रहेको बताइसकेको छ । कतिपयले हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्ने कामले गोपनीयता हनन् भएको टिप्पणी गरिरहेका छन् । तर, नपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले क्यामेरा हिरासतमा बस्नेहरुको सुरक्षाकै लागि राखिएको बताएका छन् । उनले पछिल्लो समय हिरासतमा हुने आत्महत्याको घटना रोक्नका लागि सीसीटिभीबाट निगरानी गरिने गरेको बताए । उनले प्रायः सबै हिरासत कक्षको निगरानी सीसीटीभीबाट गर्ने बताए । प्रवक्ता अधिकारीले प्रहरीको हिरासत निगरानी कक्षबाट तस्बिर बाहिरिएको घटनाबारे अनुसनधान भइरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले तस्बिरको वास्तविकताबारे छानबिन गर्न समिति बनाइएको बताए । यता गृहमन्त्री रमेश लेखकले पनि कास्की प्रहरीको हिरासतमा लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्