काठमाडौं : जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल नखेल्ने भएका छन् ।
हातमा चोट लागेकाले अनिलले एनपीएलका बाँकी खेल गुमाउने पक्का भएको हो । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । चितवन राइनोजविरुद्धको खेलका क्रममा उनको हातमा चोट लागेको थियो । उनको हातको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।
जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिएका छन् ।
अनिलले लिगको पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध पाँच रन मात्रै बनाएको भए पनि दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध अविजित ६२ रनको शानदार पारी खेलेका थिए ।
उनले पोखरा एभेन्जर्स विरुद्ध एक, लुम्बिनी लायन्स विरुद्ध ४५, सुदूरपश्चिम रोयल्स विरुद्ध शून्य र काठमान्डु गुर्खाज विरुद्धको खेलमा ११ रन बनाएका थिए । उनी जनकपुरको ओपनर ब्याटर हुन् ।
प्रतिक्रिया दिनुहोस्