काठमाडौं : इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको आक्रमणमा परेर गत वर्षदेखि बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी उद्धारका बारेमा भइरहेका प्रयासबारे इजरायली अधिकारीसँग जानकारी लिएका छन्।
राजदूत पण्डितले (बिहीबार) इजरायली प्रधानमन्त्री कार्यालयका ‘बन्धक तथा बेपत्ता पारिएकाहरूका संयोजक’ गार्ल हिससँग उनकै निवासमा भेट गरी सो विषयमा जानकारी लिएका हुन्।
त्यस अवसरमा इजरायली प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका गार्ल हिसले बन्दीका विषयमा आएका थुप्रै समाचार सत्य नभएको बताएका थिए। उनले इजिप्ट सरकारसामु हमासले बन्दीहरूको विवरण–सूची पठाएको समाचारमा पनि आधार नभएको र नेपालका विविध सञ्चारमाध्यममा यस विषयमा आएका खबरको पनि स्रोत विश्वसनीय नभएको जानकारी गराएका थिए।
यस विषयमा नेपाल र इजरायल सरकारका प्रतिनिधि तथा कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै राजदूत पण्डितले नेपाल, इजरायल र विश्व मञ्चमा यस विषयसँग सम्बन्धित अरब देशका कूटनीतिज्ञहरूसँग आवश्यक समन्वयलाई झनै प्रभावकारी बनाई बन्दी रिहाइका लागि थप पहल गरिदिन समेत अनुरोध गरे।
सुदूरपश्चिमको कञ्चनपुर घर भएका जोशी लामो समयदेखि लापता छन् भने उनको उद्धार पहल भैरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्