काठमाडौं : दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई तेलंगाना उच्च अदालतले जमानतमा रिहा गरेको छ । हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २: द रूल’ चलचित्रको प्रिमियर शोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएपछि पक्राउ परेका उनलाई शुक्रबार अदालतले रिहा गर्न आदेश दिएको हो ।
यसअघि हैदरावाद अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो । अल्लूका वकिलहरूले उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए, जसको सुनुवाइपछि उनलाई जमानत दिइएको हो ।
अल्लूलाई जुबली हिलस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउका क्रममा प्रहरीले गरेको व्यवहारप्रति अल्लूले अदालतमा आपत्ति जनाउँदै आफूलाई चिया नास्ता गर्न समेत नदिएको र कपडा परिवर्तन गर्ने मौका पनि नदिएको बताएका थिए ।
घटनाप्रति भारतीय कलाकार तथा नेताहरूले विरोध जनाउँदै अल्लूलाई अन्यायपूर्ण रूपमा हिरासतमा राखिएको बताएका थिए । उच्च अदालतले घटनामा अल्लूलाई मात्र दोषी ठहर गर्न नमिल्ने भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो । साथै अदालतले अल्लूको पनि अन्य नागरिकसरह स्वतन्त्रताको अधिकार रहेको बताएको छ ।
चलचित्र प्रिमियरका क्रममा भएको दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको भए पनि यो विषयमा एकपक्षीय रूपमा निर्णय लिन नमिल्ने उच्च अदालतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्