काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले चौथो जित निकालेको छ । शुक्रवार भएको खेलमा लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णाली याक्सले चौथो जित दर्ता गरेको हो ।
जितका लागि १ सय २९ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि टम मूर्सले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । ओपनर आशुतोष घिरैयाले १६ र अर्जुन साउँदले १३ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेल आज चल्न सकेनन् ।
रोहितले १० रन मात्रै जोड्न सके । सन्दीप जोराले २४ रनको योगदान दिँदा बेन कटिङ १ रन बनाउँदै बाहिरिए ।साद बिन जफर १६ रन बनाएर खेलिरहेका बेला रन आउट भए । तिलकराज भण्डारी ३ र रामोन सिमन्ड्स ४ रनमा नट आउट रहे ।
कर्णालीको जितमा अन्तिम ओभरमा नन्दन यादवले किफायती बलिङ गरे । कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक २ विकेट लिए ।सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा, विलियम बोसिस्टो र यूनिस विक्रम सिंहले समान १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन जोड्यो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ रन बनाए । उनले १ छक्का र २ चौका हिर्काए । ओपनर बाबर हयातले २० रन जोडे भने चाडविक वाल्टनले १३ रनको योगदान दिए ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनालले ३, गुलशन झाले ८, सोमपाल कामीले ७ र जिशान मकसूदले १ रन बनाए । बलिङमा भने लुम्बिनी लायन्सका विकास अग्रीले सर्वाधिक ३ विकेट लिए । तिलकराज भण्डारीले २ विकेट लिए । रामोन सिमन्ड्स, साद बिन जफर र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्