काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कुनै पनि खेल राखिएको छैन। मंगलबार भने दुई खेल हुँदैछन्। मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ। चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन।
मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।
एनपीएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन् । चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन् । तालिकाको पुछारमा रहेको लुम्बिनी भने चार खेल खेलिसक्दासमेत अंकबिहीन छ ।
प्रतिक्रिया दिनुहोस्