काठमाडौँ : लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।
एनपीएलको कीर्तिमानी जित निकाल्ने क्रममा पोखराका ओपनर एन्ड्रिस गौउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरे। पोखराले तेस्रो खेलमा आएर पहिलो जित निकालेको हो। योसँगै एनपीएलमा जित निकाल्न बाँकी लुम्बिनी मात्र बाँकी छ।
लुम्बिनीले दिएको १ सय ७१ लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आन्द्रस १ सय ४ र दिनेश ६१ रनमा अविजित रहे। पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे । एनपीएलमा शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। उनले ५४ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।
उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। जारी एनपीएफमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। अर्का अोपनर दिनेश खरेलले ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। एनपीएलको एकै इनिङ्समा दुई अर्धशतक बनेको यो पहिलो पटक हो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो। चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे। कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा अविजित रहे।
कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्।
यसअघि जनकपुरलका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए। टोम ४५ रन बनाउँदै रन आउट भए। उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे।
लुम्बिनीका ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा नै विपिन खत्रीको बलमा आउट भए। सन्दीप जोरा १८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। पोखराका लागि विपिन खत्रीले २ तथा म्याथ क्रिट्लेले एक विकेट आफ्नो नाममा गरे।
प्रतिक्रिया दिनुहोस्