कैलाली : कैलालीको अत्तरियामा कालोपत्रे सडकको कालोपत्रे उप्काएर बेपत्ता भएका ठेकेदारले अझै काम सुरु गरेका छैनन् । गत वर्ष नै गोदावरी नगरपालिका – २ आदर्श गल्लीको कालोपत्रे सडक उप्काएका ठेकेदार ८ महिना वितिसक्दा पनि काम गर्न नफर्किएका हुन ।
गोदावरी नगरपालिकाले सडक कालोपत्रे गर्ने भन्दै कुमार शिशिर कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षको कार्यक्रम अन्तरगत नगरपालिकाले ठेकेदार सँग सम्झौता गरेको भएपनि ठेकेदारले गत वर्ष भएको कालोपत्रे सडक उप्काएका थिए । कालोपत्रे उप्काएपछि हाल सो सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । ठेकेदार कम्पनीले गत वर्ष जेठ महिना नै सडकमा जेसिवी लगाएर पुरै सडकको कालोपत्रे उप्काए पछि अहिले स्थानीयले सास्ती खेप्नु परेको छ ।
करिब २२५ मिटर लम्बाई रहेको उक्त सडकको कालोपत्रे उप्काएर अहिले सडकमा आवतजावत गर्न पनि समस्या हुने गरेको छ । कालोपत्रे उप्काएपछि अहिले सडकमा जताततै खाल्डा परेका छन् भने सडकमा छरिएका ढुङ्गाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।
गोदावरी नगरपालिकाले गत आर्थिक वर्षमा आदर्श गल्लीको सडक सहित नगरभित्रका ३६ वटा सडक कालोपत्रे गर्नको लागि एकमुष्ट ठेक्का आह्वान गरेको थियो । ३६ वटा सडकलाई ५ प्याकेजमा छुट्टाएर टेन्डर आह्वान गर्दा ३ वटा निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएका थिए ।
जसमध्ये सोनी कन्स्ट्रक्सनले काम सम्पन्न गरिसकेको छ भने एनके निर्माण सेवाको काम पनि अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । सोनी कन्स्ट्रक्सनले तेस्रो प्याकेज अन्तरगत वडा नम्बर वडा नम्बर ६, ७, ८ र ९ का ७ वटा सडक कालोपत्रे गरिसकेको नगरपालिकाका इन्जिनियर जनक खड्काले बताए । कुल लम्बाइ १ किलोमिटर ५६ मिटर रहेको उक्त सडकको कालोपत्रेका लागि सोनी कन्स्ट्रक्सन सँग ६१ लाख ६३ हजार ७१५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै पाँचौ प्याकेज अन्तरगत वडा नम्बर ५ का सडक कालोपत्रे गर्न एनके निर्माण सेवा सँग सम्झौता गरिएको छ । जस अन्तरगत कुल ७७५ मिटर लम्बाइका ४ वटा सडक रहेको छन । एनके निर्माण सेवा सँग ५७ लाख २१ हजार ६८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एनके निर्माण सेवाको काम अन्तिम चरणमा पुगेको इन्जिनियर खड्काले बताए ।
पहिलो, दोस्रो र चौथो खण्डका सडकको निर्माणको ठेक्का पाएको कुमार शिशिर कन्स्ट्रक्सन बेवास्ता गर्दा काममा ढिलाई भएको इन्जिनियर खड्काले बताए । कुमार शिशिर कन्स्ट्रक्सन सँग पहिलो प्याकेज अन्तरगत वडा नम्बर १ का १३ सडक, दोस्रो प्याकेज अन्तरगत वडा नम्बर २, ३ र ४ का ७ वटा सडक र चौथो प्याकेज अन्तरगत वडा नम्बर १०, ११ र १२ का सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरेको थियो । इन्जिनियर खड्काले हाल ठेकेदारले चौथो प्याकेज अन्तरगतका सडकको काम गरिरहेको बताए ।
उनले गत आर्थिक वर्षमै सक्नुपर्ने काम भएपनि सम्झौतामै ढिलाई हुँदा चालु आर्थिक वर्ष सम्मका लागि म्याद थप गरिएको बताए । कुमार शिशिर कन्स्ट्रक्सन सँग पहिलो प्याकेजको १ किलोमिटर ७०९ मिटर कालोपत्रे गर्न १ करोड ११ लाख ८७ हजार ७८८, दोस्रो प्याकेजको २ किलोमिटर १० मिटर कालोपत्रे गर्न १ करोड १५ लाख ८३ हजार ९७६ र चौथो प्याकेजको १ किलोमिटर ४५७ मिटर सडक कालोपत्रे गर्न ९२ लाख ३८ हजार २७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
नगरपालिकाले टुक्रे सडक योजना बनाउँदा पनि काममा ढिलाई भएको निर्माण कम्पनीको भनाइ छ । पाँच वटै प्याकेज अन्तरगतका ३६ वटा सडकको कुल लम्बाई ७ किलोमिटर मात्रै रहेको छ । ३६ वटै सडकको कुल लागत ४ करोड ३८ लाख ९५ हजार ४३८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्