धनगढी । नेपाल चिकित्सक संघ धनगढी शाखाले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार चिकित्सक संघ धनगढी शाखाले जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र चिकित्सकहरुको समस्या र चुनौतिबारे प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको संघको धनगढी शाखाका सचिव डा. मेराज आलम अन्सारीले बताएका छन् ।
अन्सारीका अनुसार ध्यानाकर्षण पत्रमा खासगरी एमबिबिएस/पिजी अध्ययनका लागि विद्यार्थीहरूले झेल्नुपरेका कठिनाइ र यसले उत्पन्न गराएको समस्या समाधानका लागि पहल गर्न माग गरिएको छ ।
उनीहरुले सोही ध्यानाकर्षण पत्रमार्फत पिजीमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई आठौँ तहका मेडिकल अफिसर सरहको तलबभत्ताको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । त्यस्तै चिकित्सा शिक्षा, अनुसन्धान, तथा जनस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा सुधारका उपायहरूको कार्यान्वयन गराउन पनि ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
पछिल्लो समय चिकित्सा क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले झेल्नुपरेको समस्याबारे ब्रिफिङ गर्दै उनीहरुले चिकित्सको आत्मसम्मानमा आँच पुर्याउने गतिविधि निर्मूल गर्न र सरकारी नीति र व्यवस्थापनमा सुधारका कदम चाल्न पनि सरकारसँग माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले चिकित्सकहरुको मागलाई सम्बन्धित निकायसम्म जस्ताको त्यस्तै पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्