धनगढी : नगर स्तरमा खेलकुदको महाकुम्भका रुपमा चिनिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिकामा मंगलबार देखि २ हजार १९५ विद्यार्थी सहभागी रहेको प्रतियोगिता सुरु भएको हो ।
जसमा ६ विधा अन्तरगत मार्सलाटका ३ विधा सँगै एथलेटिक्स, भलिबल र कबड्डीका खेल खेलाइँदै छन । गोदावरी नगरपालिका – ७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासमा ठूलो योगदान पुग्ने बताए ।
उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नको लागि एक अर्कासँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले शैक्षिक अवस्थामा पछि भएपनि खेलको जगतबाट अघि बढाउन सकिने बताए ।
‘नगरपालिका अहिले शैक्षिक क्षेत्रमा वामे सर्दै छ’ उनले भने ‘नगरपालिकालाई चिनाउन खेलको ठूलो भूमिका छ । यसमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ठूलो भूमिका हुन्छ ।’ गोदावरी नगरपालिकाको शिक्षा समितिका सदस्य डा. डम्बर पालले नगर स्तरिय राष्टपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीको संख्या बढ्दै गएको बताए ।
उनले गत वर्ष ४३ विद्यालय सहभागी भएकोमा यो वर्ष बढेर ४५ पुगेको बताए । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका विद्यार्थी सहभागि भएका छन । जसमा २२ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन ।
प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँग सँगै नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने जनाइएको छ । जसमा कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने छन ।
प्रतिक्रिया दिनुहोस्