काठमाडौं : नरेश भट्टमाथि श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । भूतपूर्व अमेरिकी सैनिक नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
सोमबार उनीमाथि हत्या र शव लुकाएको अभियोग लागेको हो । यो बहसका क्रममा ममताकी आमा गीता पनि अदालतमा उपस्थित थिइन् । ३७ वर्षीय नरेशले ममताको हत्या ३० जुलाईतिर गरेको मानसास पार्क प्रहरीको भनाइ छ ।
मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भयो । प्रहरी प्रमुखले भने, “सुरुआतदेखि नै हामीलाई उनको हत्या भएको शंका लागेकाे थियो । यो कुरा डीएनए जाँच र अरु प्रमाणबाट पुष्टि भएको छ ।”
ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।
ममता प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी अन्तिमपटक २७ जुलाईमा अफिस पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी २ अगष्टमा ममताको घर पुगेको थियो ।
प्रहरीले ममतालाई फेला नपारेपछि उनका श्रीमान् नरेशसँग सोधपुछ गरेको थियो । नरेशले पनि ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेशले नै ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेस गरेको छ ।
प्रहरीका अनुसार नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ ?’, ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ ?’ भनेर सर्च गरेका थिए । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।
हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ । नरेश र ममताको एक वर्षीया छोरी छिन् । अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, “मेरो मुटु दुःखेको छ ।”
प्रतिक्रिया दिनुहोस्