धनगढी । धन कमाउन भन्दै भारतको बैंगलोर हिँडेका अमित चौधरी आधा बाटोबाटै हराएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का ४३ वर्षीय अमित दिल्लीबाट बैंगलोर जाने क्रममा आधा बाटोबाटै बेपत्ता भएका हुन् ।
उनी नेपालबाट आफ्ना ६ जना साथीसँग कमाउन भन्दै बैंगलोर हिँडेका थिए । तर दिल्लीसम्म सँगै रहेको उनी दिल्लीबाट बैंगलोर जाने क्रममा आधा बाटोबाटै हराएको उनीसँगै बैंगलोर गएका दिपेश कठायतले बताएका छन् ।
कठायतका अनुसार दिल्लीबाट अमितसँगै ६ जना साथीहरु सँगै ट्रेन चढेका थिए । ट्रेनमा सबैजना एकैठाउँमा बस्ने सिट नपाएपछि चार जना साथीहरु ट्रेनको फरकफरक डब्बामा परे ।
दिपेश र चौधरी सँगै थिए । रात परेसँगै चौधरीलाई आराम गर्नु भन्दै उनी पनि निदाए । तर जब उनको आँखा खुल्यो चौधरी सँगै थिएनन् । उनले चौधरीलाई यताउता खोजे पनि तर चौधरी भेटिएनन् । विभिन्न स्टेशनमा ट्रेन रोकिरहने भएकाले बीच बाटोमै उनी कतै झरेको र सोही बेला ट्रेन छुटेपछि चौधरी बेपत्ता भएको कठायतले अनुमान गरेका छन् ।
चौधरी हराएको आज थुप्रै दिन भइसक्दा पनि उनको खबर आएको छैन । चौधरीको परिवारमा एउटा छोरा, एउटा छोरी र श्रीमती छिन् । परिवार पाल्नकै लागि भन्दै परदेश हिँडेका श्रीमान् र बुवा बेपत्ता भएपछि अहिले चौधरीको परिवार तनावमा छ । उनीहरुले आफ्नो परिवारको सदस्य खोजिदिन अपिलसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्