धनगढी : त्रिभुवन विश्वविद्यालय टपर धरणीधर भट्टलाई कैलाली बहुमुखी क्याम्पसले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालय टप गरेकाले क्याम्पसले भट्टलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो ।
भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने, दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३.९९, पाँचौ सेमेस्टरमा ३.९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा प्रथम भएर क्याम्पसको गरिमालाई झन् उचाइमा पुगाएका हुनाले आज सम्मान कार्यक्रमको आयोजना गरेको क्याम्पसले जनाएको छ ।
मेधाबी विद्यार्थी धरणीधर भट्ट कैलाली बहुमुख क्याम्पसको सान र पहिचान भएकाले आगामी दिनमा पनि थप हौसला मिलोस् भनी सम्मान कार्यक्रम गरिएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा क्याम्पस प्रमुख तोयराज भट्टले बताए।
डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन्। उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परिक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन्। भट्टले आफ्नो सफलताको श्रेय काका काकी, आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पसलाई दिएका छन्।
क्याम्पसले आयोजना गरेको सम्मान कार्यक्रमको सभाध्यक्षमा क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट रहनुभएको थियो। साथै सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का प्रमुख अतिथिको रूपमा रहनुभएको थियो , भने अन्य अतिथिमा माननीय रमेश धामी र कैलाली बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख सुरेन्द्र चन्द , नागरिक समाजका अगुवा, धरणीधर भट्टका अभिभावक, विभिन्न मिडियाका पत्रकार रहेका थिए ।
यसैगरी क्याम्पसका अन्य प्राध्यापक, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र अन्य विद्यार्थीहरूको उल्लेख्य उपस्थितिमा क्याम्पसका प्रेरणादायी विद्यार्थी भट्टको सम्मान कार्यक्रम सम्पन्न भएको छ।
साथै मेधावी विद्यार्थी भट्टले उच्च शिक्षा एमबिए कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन गरे निःशुल्क अध्ययनको व्यवस्था गरिने क्याम्पसका एमबिए , एमबिएस विभागीय प्रमुख तथा प्राध्यापक सङ्घका सभापति डा.शिवप्रसाद सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस्