२२ गतेदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव हुने,५ लाख दर्शकले अवलोकन गर्ने अनुमान

धनगढी : कैलालीको धनगढीमा यही मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुने सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण हुने भएको हो ।

संघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको करिब ८० प्रतिशत तयारी पूरा भएको जानकारी दिए । महोत्सवमा करिब पाँच सय स्टल रहने तथा ९५ प्रतिशत स्टल बुक भइसकेको उनले बताए ।

सुदूरपश्चिमको कला,संस्कृतिको संरक्षणसँगै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइने उनले बताए । महोत्सवमा यसै क्षेत्रका उद्यमी,व्यवसायीका उत्पादनहरुलाई प्राथमिकता दिइने उनले बताए ।
महोत्सव करिब तीन करोड लगानीमा सम्पन्न हुने अपेक्षा गरिएको बताउँदै अध्यक्ष कुँवरले करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताए ।

महोत्सव सफल बनाउन मूल आयोजक समितिसहित २९ उपसमिति बनाइएको जनाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु१०० राखिएको तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने आयोजकले जनाएको छ ।

संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । संघले पहिलो वर्ष सरकारसँग २१ बुँदे माग राखेको थियो । हालसम्म ५ वटा माग पूरा भएको र ६ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा नभएको यस पटक सरकार प्रमुखलाई १० किलोको माला लगाएर १० बुँदे माग राख्ने तयारी गरिएको महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।

महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने तथा ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार