काठमाडौं : हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन् हरिश निरौला ‘कक्रोच’ । भद्रगोल र हल्का रमाइलोबाट कलाकारितामा स्थापित भएका हरिश पछिल्ला वर्षमा कला क्षमता पस्कन काँचको पर्दाबाट सिनेमाघरका पर्दासम्म स्थापित भइसकेका छन् ।
‘नाइन्टिज किड’ हरिशको जन्म, हुर्काइ र पढाइ सोलुको दुगर्म गाउँ नेचासल्यानको सामान्य कृषक परिवारमा भएको हो । निरौला दम्पतीको उनी माइलो सन्तान र कान्छा छोरा हुन् । उनका एक दाइ र बहिनी छन् ।
हरिश जन्मँदा गाउँमा मोटरबाटो पुगिसकेको थिएन । झन् बिजुली बत्ती टाढाको कुरा ! घरबाट पैदल पाँच मिनेटको दूरीमा हिमाल दर्शन उच्च माध्यामिक विद्यालय थियो । त्यसैले, स्कूले शिक्षा लिन उनलाई सजिलै भयो ।
परिवारको आर्थिक अवस्था कमजोर नै थियो । बुवा रोजगारीका लागि भुटान–बर्मासम्म पुग्थे । हरिश सम्झन्छन्, ‘तर, खान पुग्नेगरी खेती हुन्थ्यो । दुःख गरे खान पुग्थ्यो । बजारका सामान उपभोग चाहिँ दुर्लभ नै थियो ।’
सोलु बसुञ्जेल उनलाई अहिलेका नियमित बजारिया खान्कीबारे जानकारी समेत थिएन । भन्छन्, ‘कोक, फेन्टा र दुनोट हुन्छन् भन्ने नै थाहा थिएन । काठमाडौं आएरै खाएको हो । सोलुमा हुँदासम्म बजारीया सामानमा चाउचाउ, बिस्कुट र चुइमगम मात्रै खाइएको थियो ।’
हरिश पढाइमा उत्ति तीक्ष्ण थिएनन् । पढाइमै अब्बल भएर स्कूलमा वार्षिक पुरस्कार सायदै जिते । एसएलसीमा त ‘झाम्टे’ (एक्जाम्टेड) नै भए ।
भन्छन्, ‘त्यसअघि म कहिल्यै फेल चाहिँ भएको थिइनँ । एकैपटक एसएलसीमा फेल भएँ । अङ्ग्रेजी लाग्यो, मौका परीक्षा दिएर पास भएँ ।’
ती अनुभव
हरिशलाई आफू कहिलेदेखि नाच्थेँ भन्ने थाहा छैन । न उनले टेलिभिजन देखेका थिए, न त कोहीबाट प्रभावित भएका थिए ।
आमाले ‘तँ सानैदेखि नाच्थिस्’ भन्दा अहिले उनको मनमा प्रश्न उठ्छ – के कारण नृत्यप्रति मेरो लगाव भयो होला ?
खैर ! उनलाई जीवनमा पहिलोपटक पुरस्कार दिलाउने नै नृत्य थियो । सुनाए, ‘शुक्रबार स्कुलमा सदन–सदनबीच प्रतिस्पर्धा हुन्थ्यो । चारमा पढ्दा म नृत्यमा प्रथम भएको थिएँ ।’
उनलाई त्यसबेला नाचेको गीत र पुरस्कार दुवै याद छ । भन्छन् – ‘गीत बिजुलीको तार थियो, पुरस्कार चारवटा लालीगुराँस कापी थियो ।’
टोल–छिमेकमा ‘हरिशले नाच्छ है’ भन्ने छवि बनाउने गरी बाल्यकालमा नृत्य गरेको उनी बताउँछन् । भन्छन्, ‘नाच्ने भएकाले देउसी भैलो गर्दा ठूलाहरूको टोलीमा पनि मलाई लैजान्थे । बुवाहरूको टोलीमा देउसी खेल्नेहरूमा पनि बच्चा चाहिँ म मात्रै हुन्थेँ ।’
०६१ मा एसएलसी दिएर काठमाडौं आउनुअघि एकपटक मात्रै टेलिभिजन हेरेको हरिश बताउँछन् । पहिलोपटक टेलिभिजन देख्दा उनी ११ वर्षका थिए अरे !
भन्छन्, ‘घरबाट आधा घण्टा ओराले झरेपछि एउटा मेकानिक दाइको घर थियो । त्यहाँ गएर टेलिभिजन हरेँ । नेपाली अनुवादको रामायण हेरेको थिएँ । मलाई टेलिभिजनमा देखिएका पात्र नै साँच्चै भगवान हुन् भन्ने लागेको थियो ।’
उनलाई अहिले बाल्यकालको प्रिय लाग्ने मध्येको एक क्षण बुवासँग फोनमा बोल्दाको हो । उनी घण्टौं टेलिफोन बुथ कुरेर बुवासँग फोन संवाद गर्थे ।
हरिशले गाडी प्रत्यक्ष देख्न भने जीवनको १५ वर्ष बिताउनुपर्यो । एसएलसीपछि काठमाडौं आउने क्रममा उनले दोलखाको जिरीमा पहिलोपटक गाडी देखेका हुन् ।
भन्छन्, ‘एसएलसीको सेन्टर सोलुको सदरमुकाम सल्लेरीमा थियो । त्यहीँबाट आउन प्लेनको टिकट काटेको थिएँ । एक सातासम्म मौसमका कारण प्लेन उडेन । अनि पैदल जिरी पुगेको हो ।’
हरिश काठमाडौंमा आउन दुई शिक्षक साथमा सोलुबाट हिँडेका थिए । बीचमा बास बसेर दोस्रो दिन मात्रै जिरी पुगे । गाडी हेर्ने उत्साहले पैदल यात्राको थकान पनि बर्सिएको उनी सुनाउँछन् ।
भन्छन्, ‘जिरी पुगेर होटलमा झोला बिसाएँ । मलाई गाडी हेर्न यति मन थियो कि बासपार्क सोध्दै गएँ । बसपार्कमा पुगेपछि चित्रमा देखिएका जस्तै ठूला वस्तु देखेँ । ल गाडी यस्तो हुने रहेछ, यही चढेर काठमाडौं जाने हो भन्दै फर्किएँ ।’
माओवादीको बन्दले गाडी चढ्न उनले थप दुई दिन कुर्नुपर्यो । गाडी चढ्दाको पहिलो अनुभवबारे उनी भन्छन्, ‘गाडी चाहिँ कुदेको जस्तो नलाग्ने । बाहिरका रुख र घरहरू चाहिँ कुदे जस्तो लाग्ने रहेछ ।’
यही बेला उनी पिच सडक पनि पहिलो पटक देखेका हुन् । भन्छन्, ‘पिच हुन्छ भन्ने थाहा थिएन । सुरुमा त गाडी खोलामा हिँडेको छ कि जस्तो पो लागेको थियो त ।’
काठमाडौं छिरेर धुर्मससँग भेट
हरिशलाई काठमाडौं छिरेपछि बस्न समस्या थिएन । बुवा, आमा, दाइ र बहिनी काठमाडौं आइसकेका थिए । गौशलामा डेरा थियो ।
काठमाडौं आएपछि उनलाई हाँस्य कालकार सीताराम कट्टेल ‘धुर्मस’लाई भट्ने इच्छा पलायो । हरिश र ‘धुर्मस’का आमा दिदी–बहिनी हुन् । तर, हरिश काठमाडौं आउनुअघि उनीहरू दुईको भेट भएको थिएन ।
भन्छन्, ‘दाइ कलाकार भएकाले मलाई भेट्ने इच्छा भयो । सायद नृत्य गर्ने भएर पनि होला, उहाँलाई भेट्ने इच्छा भएको ।’
टीभीमा आउने दाइ भेट्न उनी साथीको सहयोगमा थापाथली पुगे । यहीबेला उनी कुमार कट्टेल जिग्रीलाई पनि पहिलो पटक भेटेका हुन् ।
‘मेरो सोलुको साथीको आफन्त र धुर्मुश दाइ डेरा एकै घरमा रहेछ । अनि मलाई साथीले पुर्याइदियो,’ उनी भन्छन्, ‘मैले दाइलाई भेट्दा मेरी बास्सै सुरु भएकै थिएन । कुमार कलेज पढ्दै रहेछ । उसँग पनि त्यही दिन भेट भएको हो ।’
चिया पसल, नृत्य र कलेज
हरिश भन्छन्, ‘काठमाडौं आउँदा मेरो निश्चित उद्देश्य केही थिएन । क्याम्पस पढ्दै थिएँ । यही पेसा अँगाल्छु भन्ने थिएन ।’
लक्ष्यविहीन भए पनि उनी जिम्मेवारविहीन हुन भने पाएनन् । काठमाडौंमा परिवार टिकाउन हरिशका बुवालाई कठिन भयो । गौशालमा बसको टिकट काट्ने बुवाको जागिरले महिना कटाउन धौधौ थियो ।
भन्छन्, ‘सोलुबाट काठमाडौं आएकाले दाइ पढाइमा मभन्दा पछि हुनुहुन्थ्यो । उहाँ स्कुल नै जानुहुन्थ्यो । ममी ठूलै बिरामी पर्नुभयो । बहिनी सानै थिइ । घरमा सहयोग गर्ने म मात्रै भएँ ।’
आर्थिक सहजताको आशले हरिशका बुवाले आफ्नै टिकट काउन्टरको आडमा चिया पसल खोले । अनि, हरिशले सडकमै चिया पनि बचे ।
भन्छन्, ‘ममी बिरामी भएकाले पसलमा आउन नसक्ने । गौशला बसपार्कमा बिहान ४ बजे यात्रुको चहलपहल हुने ! तीन बजे नै पुगेर सडकमै चिया बेच्थेँ । बिहानको ६ बजेपछि सटरभित्र सरिन्थ्यो ।’
हरिशको दैनिकी भयो– बिहानको पसल र साँझ राज्य राज्यलक्ष्मी कलेजको पढाइ ! अनुकुल मिल्दा ‘धुुर्मुश दाइ’को डेरा !
सम्झन्छन्, ‘दाइको डेरामा कलाकारहरूको जमघट हुने ! मलाई त्यो माहोल मन परेको थियो । ममी अलि सञ्चो भएर पसल जाने बित्तिकै म धुर्मुश दाइकहाँ पुगिहाल्थेँ ।’
सोहीकारण हरिशको र धुर्मुशको भेट बाक्लिन थाल्यो । धुर्मुशले ‘भाइको नृत्यमा रुचि छ’ भन्ने थाहा पाए र ‘डान्स क्लास’ हालिदिए । डिल्ली बजारमा शंकर बीसीको डान्स स्टुडियो उनको नृत्यशाला बन्यो ।
हरिशको दैनिकीमा अर्को काम थपियो । बिहान पसल, दिउँसो नृत्य प्रशिक्षण र साँझ क्याम्पस !
कोरस नाच्दाको पाँच वर्ष
हरिशलाई नृत्य सिकाउने शंकर बीसी त्यसबेलाका चल्तीका कोरियोग्राफर र मोडल थिए ।
नृत्य सिकेको डेढ वर्षपछि शंकरले उनलाई कोरस डान्सरका रूपमा छायाङ्कनमा लैजान थाले ।
भन्छन्, ‘शंकर सरले आफूले सिकाउने मध्ये जो राम्रो गर्छ उनीलाई लैजानुहुन्थ्यो । डेढ वर्ष सिकेपछि भने मेरो पालो आयो ।’
त्यो बेला एक दिन कोरस नाच्दा २५० रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । थप्छन्, ‘निर्माताले ३०० रुपैयाँ दिने रहेछन् । ग्रुप लिडरले ५० रुपैयाँ कमिसन राख्थे ।’
यो पाँच वर्षको दौरानमा हरिशले ४०० भन्दा बढी गीतमा कोरश नाचे । यो बेला दुई दिन विश्राम नलिइ चार गीतको कोरशमा नाचेको क्षण पनि उनीसँग छ ।
उनीलाई कलाकारितामा लाग्न प्रेरित गराउने तत्व पनि सोही कोरस नाच बन्यो । भन्छन्, ‘पैसा नि आउने, बिस्तारै छायाङ्नका लागि कलेज पनि छोड्दै गइयो । पढाइप्रति पनि मन मर्दै गयो ।’
यता, उनी स्नातकमा भर्ना हुँदा–नहुँदै धुर्मुशले मेरी बास्सैमा पनि सुरु गरिसकेका थिए । धुमुर्सको थापागाउँ डेरा सरे । धुर्मुशको डेराको कलाकारिताको महोलले उनलाई आकर्षण गरिरह्यो । थापागाउँ बसाइँ झन् बाक्लियो ।
भन्छन्, ‘कलेज पनि थापागाउँबाट नजिक भयो । कलाकारिताको झुकाव बढेकाले म झन् जान थालेँ । तर सिरियलमा खेल्छु दाइ भन्ने आँट मलाई कहिल्यै आएन ।’
यद्यपि धुर्मुशले कहिलेकाहीँ मेरी बास्सैमा देखिने अवसर भने हरिललाई दिए । भन्छन्, ‘सिपाही, पासिङ रोल, फ्याट्टफुट्ट देखिने गरी मैले मेरी बास्सैमा अभिनय गरेको छु ।’
त्यस समय पनि कलाकारितामा केही झुकाव भए पनि कला क्षेत्रमै भविष्य बनाउँछु भन्ने दृढता आफूमा पलाइनसकेको उनी सम्झन्छन् ।
भन्छन्, ‘कोरस नाच्थेँ लिडमा नाच्न पाउँछु भन्ने आत्माविश्वास थिएन । अभिनयमै लाग्नका लागि त्यो क्षेत्रमा मेरो दख्खल होइन ।’
सिस्नुपानीमा अभिनय
कुमार कट्टेल बेलायतबाट भर्खरै फर्किएका थिए । विविधकारण उनी बेलायतबाट तोकिएको मितिभन्दा अगाडि नै फर्कनु परेको थियो ।
नेपाल फर्किएर कुमारले अभिनय कर्ममा करिअर बनाउने लक्ष्य बनाए । जुन कुरा हरिशलाई सुनाएका थिए । यो ०६७ सालतिरको कुरा हो । तर हरिशमा अझै कुनै लक्ष्य थिएन ।
‘कुमार त मेरी बास्सैको पनि स्क्रिप्ट लेखेको र अभिनय गरेको मान्छे हो । ऊ अभिनय कर्ममै लाग्छु, सिरियल गर्छ भनेर लाग्यो,’ उनी भन्छन्, ‘म त कोरसमै रमाइरहेको थिएँ । अब के गर्ने भन्ने नै थिएन ।’
यही दौरान कुमार र हरिशको अर्जुन घिमिरे (अहिलेका पाडे)सँग भेट भयो । अर्जुन त्यसबेला सिरियल ‘सिस्नुपानी’मा अभिनय गर्थे । सिरियलमै काम गर्ने भएकाले कुमारले अर्जुनलाई भेट गरेका हुन् ।
हरिश भन्छन्, ‘कुमारले नयाँ सिरियल सिस्नुपानी टेलिभिजनमा देखेछ । आफू पनि त्यो सिरियलमा काम गर्न एक पत्रकारसँग नम्बर मागेर अर्जुन दाइलाई भेट गरेको हो । अर्जुन दाईलाई भेट्न कुमारसँग म पनि गएको थिएँ ।’
हरिशका अनुसार त्यसबेला अर्जुन पनि टिमको खोजीमा रहेछन् । कुमारको प्रस्ताव उनले सहज स्वीकार गरे । भन्छन्, ‘मलाइ लाग्छ– कुमारले मेरी बास्सैमा काम गरिसकेकाले उहाँले ससम्मान प्रस्ताव स्वीकार गर्नुभयो ।’
उक्त भेटको पछिल्लो साताबाट कुमार छायाङ्कनमा सहभागी भए । त्यसपछि सिस्नुपानीको लेखन/निर्देशनको जिम्मेवारी अर्जुन र कुमारले गरे ।
हरिश भन्छन्, ‘कुमार छिरेपछि सिरियलको स्वरुप अर्कै भयो । अर्जुन दाइको पाँडे र कुमारको जिग्री क्यारेक्टर त्यहीँबाट विकास भएको हो ।’
पात्रहरूको पनि माग पनि बढ्यो । सिरियल रोचक बनाउन जिग्रीलाई साथीको आवश्यकता पर्यो । कुमारले हरिशलाई प्रस्ताव गरे ।
भन्छन्, ‘कुमारलाई लेखनमा पनि सहयोग मिल्ने भएकाले मलाई प्रस्ताव गर्यो । म किन नाइँ भन्थेँ ?’
हरिशको कक्रोच पात्र त्यहीँ विकास भएको हो । तर, त्यसबेला उनको कपाल अहिलेको जस्तो ‘डेडलक’ थिएन । लामो र घुमाउरो भने थियो । त्यति बेलासम्म उनले करोस नाच्न छोडेका थिएनन् ।
अनि भद्रगोल
हरिश ‘सिस्नुपानीमा भाग ९ मा प्रवेश गरे । भाग १८ प्रशारण भएर सिरियल बन्द भयो ।
सकारात्मक कुरा– बन्द भए पनि यस सिरियलले यही क्षेत्रमा भविष्य बनाउने भनेर लागेका युवाहरूको भेट गराइदिएको थियो ।
यही टोली ‘भद्रगोल’ सिरियलको विकास गर्ने कोर टिममा परिणत भयो । त्यो टिममा थिए– अर्जुन, कुमार र हरिश ।
सिस्नुपानीबाटै बाटोमा हिड्दा केही व्यक्तिले चिन्न थालेकाले हरिशलाई पनि कलाकारिताको मोह छिरिसकेको थियो ।
उनले आफ्नो तर्फबाट भद्रगोल निकाल्न अर्जुन र कुमारलाई सकेको सहयोग गरे । भद्रगोलका लागि पात्र खोज्न उनी पनि लागिपरे ।
भन्छन्– ‘कमलमणि दाइ ‘खुपीका बा’लाई मैले नृत्यकै कारण चिनेको थिएँ । भद्रगोलको प्रस्ताव लिएर उहाँसँग मैले पहिलो पटक भेट गरेको हो ।’
त्यसबेला अहिलेको जस्तो सामाजिक सञ्जालको पहुँज विस्तार भएको थिएन । सिरियल टेलिभिजनबाट मात्रै प्रशारण गर्नुपर्ने हुन्थ्यो । प्रसारणअघि डमी खिच्नुपर्थ्यो ।
अन्ततः ०६९ सालमा भद्रगोलको प्रशारण सुरु भयो ।
सिरियलले दिलाएको ख्याति
भद्रगोलले प्रसारणका लागि नेपाल टेलिभिजनको महँगो मध्येको एक समय पाएको थियो । अर्थात् प्राइमा टाइम– शुक्रबार राति ९ बजे ।
भद्रगोल सुरुको भागदेखि नै लोकप्रिय भयो । हरिश कलाकार कक्रोचका रूपमा लोकप्रिय बने ।
तर यस पछाडिको मिहिनेत र लगानशिलता पनि उनको उत्तिकै छ । पहिलो भागबाटै सिरियलले लोकप्रियता कमाए पनि ६ महिनापछि मात्रै पारिश्रमिक बुझेको उनी बताउँछन् ।
भन्छन्, ‘पारिश्रमिक माग्ने हैसियत बनेको थिएन । खेल्न पाउँदा भनौं वा मञ्च पाएकामा नै म खुशी थिएँ ।’
यसरी पारिश्रमिक नपाउँदा न उनलाई त्यसबेला दुखेसो थियो, न अहिल नै छ । स्क्रिप्टमा पनि उत्तिकै मिहिनेतले सिरियलले त्यो गति लिएको उनको बुझाइ छ ।
भन्छन्, ‘हामी रात–दिन नभनी स्क्रिप्टमा काम गर्थ्यौं। अलिकति भने पनि बढी ह्युमर देखाउने हाम्रो कोशिस हुन्थ्यो ।’ अर्थात्, भद्रगोललाई सफल बनाउन मिहिनेत हात मध्येका एक कक्रोच पनि हुन् ।
तर अहिले अर्जुन, पाँडे, क्रक्रोचको टिमले भद्रगोल छाडेको छ । उनीहरूले अहिले ‘सक्किगोनि’ सञ्चालन गरेका छन् ।
‘सक्किगोनि’ अहिलेहाल सर्वाधिक रुचाइएको सिरियल हो । जसको क्रिएटिभ विभागको काम कक्रोचले सम्हालेका छन् ।
कलाकारिताले के दियो ?
हरिश अभिनय कर्ममा लागेको १२ वर्षभन्दा बढी भयो । यस दौरान उनी नामका हिसाबले स्थापित कलाकार कक्रोच बने । उनी दर्शकले रुचाएका कलाकार हुन् ।
भन्छन्, ‘विशेष काठमाडौं भ्याली बाहिरका दर्शकले देखाउने प्रेमले असमान्य छ । त्यो मैले अरू क्षेत्रमा लागेको भए सायदै कमाउने थिएँ ।’
आर्थिक हिसाबले पनि उनी सन्तुष्ट रहेको बताउँछन् । भन्छन्, ‘गौशाला १८ वर्ष डेरा बसियो । दुई वर्षअघि भक्तपुरमा घर किनियो । मेरो एकल कमाइले मात्र घर किनेको त होइन, बुवा र दाइको कमाइ जम्मा गरेर बनाएको हो । तर, कम्तिमा बस्ने ठाउँ आफ्नै भयो ।’
उनी म्युजिक भिडियोका लिड मोडल पनि हुन् । यसतर्फ पनि उनको व्यस्तता बढ्दो छ ।
भन्छन्, ‘कुनै बेला कोरस नाच्दा मलाई पनि लिड गर्ने रहर पैदा हुन्थ्यो, तर आत्माविश्वास थिएन । आज सिरियलबाट चर्चा कमाएर मैले ६० भन्दा बढी म्युजिक भिडियोमा लिड मोडल भएर काम गर्ने अवसर पाएँ । यो मैले सोचेको भन्दा निकै माथिको कुरा हो ।’
प्रतिक्रिया दिनुहोस्